पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्दै, अझै चिसो बढ्ने अनुमान

Machchapuchchre

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल जम्मू–कश्मीर माथि रहेको न्यून चापीय प्रणाली नेपालको पश्चिमी क्षेत्रमा आउने क्रममा रहेको मौसमविद वरुण पौडेलले बताएका छन् ।

मंगलबार बेलुकासम्म सो प्रणाली नेपाल प्रवेश गर्ने र त्यसले गर्दा मौसम बदली हुने उनले बताएका छन् । मंगलबार पश्चिमका उच्च पहाड तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने मौसमविद पौडेलले बताएका छन् ।

पश्चिमी न्यून चापीय प्रणाली बुधबार बेलुकासम्म सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली क्षेत्रमा समेत मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको उनले बताए । सो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरि बदली हुने र न्यूनतम तापक्रम अति कम भइ देशभरि चिसो बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार र बिहीबार पश्चिमी क्षेत्रका धेरै ठाउँ र मध्य तथा पूर्वका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि जनाइएको छ । पश्चिमी न्यून चापीय प्रणाली शुक्रबारसम्म नै सक्रिय रहने छ । उच्च पहाडी र हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात हुन सक्ने र पहाडी भेगमा हल्कादेखि मध्यम वर्षा हुने तथा तापक्रममा गिरावट हुने सम्भावना रहेकाले हिमपात र चिसोबाट बच्न सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।

तर मंगलबार भने यसको प्रभाव त्यति नपर्ने मौसमविद पौडेलले बताएका छन् । हाल देशका पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । मंगलबार दिनभरजसो पश्चिम र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी क्षेत्रमा मौसम सफा सम्भावना छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । पश्चिमको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । काठमाडौँ उपत्यकासहितका क्षेत्रमा मंगलबार केहीबेर आंशिक बदली भए पनि दिउँसो मौसम खुल्ने देखिएको छ । तराईका क्षेत्रमा लागेको हुस्सु र कुहिरो दिउँसो केही समय खुल्ने जनाइएको ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्