पदीय हैसियत र प्रभावमा हुने ‘शारिरीक सम्बन्ध’ यौनशोषण मानिने सर्वोच्चको फैसला

Machchapuchchre

काठमाडौं । सर्वोच्च अदालतले पदीय हैसियत र प्रभावमा हुने ‘शारिरीक सम्बन्ध’ यौनशोषण मानिने फैसला गरेको छ । सर्वोच्चले पदीय हैसियत र प्रभावमा हुने ‘शारीरिक सम्बन्ध’लाई पेशागत मर्यादाविरुद्ध भन्दै नेपाली सेनाको एक क्याप्टेनलाई दोषी ठहर गरेको छ । मातहतको सैनिकसँग ‘सहमतिमै’ शारीरिक सम्बन्ध राख्ने क्याप्टेनलाई दोषी ठहर गर्दै सर्वोच्च अदालतले उनीहरुलाई दिइएको सजाय सदर गरेको हो

न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले गरेको फैसलाको पूर्ण पाठमा भनिएको छ-अनुचित प्रभाव मार्फत लिइएको सहमति प्रपञ्चकै स्वरुप मान्नुपर्छ । यस्तोमा स्वतन्त्र मनको प्रयोग गरी जानेर वा बुझेर दिइएको सहमति मान्न सकिँदैन । यस्तो सम्बन्धलाई यौन शोषणकै एउटा प्रकृतिको रुपमा हेरिनुपर्छ ।

फैसलामा आफ्नो प्रदीय प्रभावमा पारी अफिसर स्तरको सैनिकले सैनिक सेवाभित्रको तल्लो तहको महिला सैनिकसँग यौन सम्बन्ध राख्नका निम्ति लिएको सहमतिलाई अनुचित प्रभावमा पारी लिएको सहमति भनी बुझ्नुपर्ने उल्लेख गरिएको छ ।

नेपाली सेनाकेा चण्डीदल गणका सहसेनानी (क्याप्टेन) भुपेन्द्र खड्काले सोही गणमा कार्यरत सुनुवार थरकी सैनिकसँग बारम्बार यौन सम्बन्ध राखेको र विवाहित महिला सैनिक गर्भवति भएपछि उनलाई गर्भपतनका लागि भारत लैजाने क्रममा २०६९ साल असोज ३० मा नागढुंगाबाट पक्राउ गरिएको थियो ।

प्रहरीले सैनिक प्रहरी गणलाई बुझाएपछि सैनिक अदालतबाट अनुसन्धान र छानविनपश्चात उनीहरु दुईजनाबीच आफ्नो कर्तव्य र जिम्मेवारीप्रति वेवास्तारत रही पटकपटक अनैतिक सम्बन्ध राखी कुचिकार पदकी सैनिक गर्भवती भएको ठहर गरेको थियो । सैनिक अदालतले क्याप्टेन खड्का र सुनार थरकी ती सैनिकलाई दोषी ठहर गरि सेवाबाट हटाउने फैसला गरेको थियो ।

उनीहरुले सैनिक आचरण विपरित अनैतिक कार्य गरेको र संगठनको मर्यादामा आँच पुगेको ठहर गरिएको थियो । फैसलाविरुद्ध खड्का सर्वोच्च अदालतमा गएका थिए । उनले आफू र ती महिला सैनिकबीच सहमतिमै यौन सम्बन्ध भएको र उनले आफू अविवाहित रहेको भनी ढाँटेको रिट निवेदनमा उल्लेख गरेका छन् । गर्भवती भएपछि आफूसँग पैसाको बार्गेनिङ गरेको र नमिलेपछि प्रहरीमा उजुरी गरेको उनको दावी रहेको थियो ।

सर्वोच्च अदालतले गत वैशाखमै खड्कालाई दोषी ठहर गरी सैनिक अदालतकै फैसला सदर गरिसकेको थियो । सोही फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक भएको हो, जसमा पदीय हैसियतभन्दा तल्लो दर्जाका कर्मचारीसँग सहमतिमै गरिने शारिरिक सम्बन्धलाई पनि यौनशोषण मानिने नजिर स्थापित गरिएको छ ।

फैसलामा ती महिला सैनिक कुचिकारको रुपमा कार्यरत रहेको र असन्तुलित शक्ति संरचनामा रहेको तथा गर्भधारण समेत गराई जटिल अवस्थामा पुर्‍याएको उल्लेख छ । गर्भपतन गर्न भारत लैजान लाग्दा डराई असुरक्षित अनुभव गरि महिला सैनिकले प्रहरीमा उजुरी गरेर दुवैलाई बसबाटै पक्राउ गरिएको तथ्य समेत फैसलामा उल्लेख छ ।

भुपेन्द्रले आफूहरुबीचका सम्बन्ध सहमतिमै भएको र ड्युटीको अवस्था र ब्यारेकभन्दा बाहिर सम्बन्ध रहेको भनेर दाबी गरेपनि उक्त कार्य सैनिक अनुशासन विपरितकै कसूर देखिएको अदालतको ठहर छ । सैनिक ऐन अनुसार सैनिक अनुशासन विरुद्ध काम गरेमा त्यसलाई खराब आचरण भनिएको हुनाले उनीहरुबीचको सम्बन्ध नैतिक मान्न नसकिने अदालतको ठम्याई छ ।

फैसलामा भनिएको छ-‘राज्यको सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने गहन जिम्मेवारी बोकेको राष्ट्रिय सेनामा यस प्रकारको सैनिक अनुशासन हुनुको विकल्प छैन र अन्तर्राष्ट्रिय अभ्यास पनि यहि हो । यस परिप्रेक्ष्यमा दुई सैनिककाबीच भएको यौनजन्य क्रियाकलापहरु सैनिक आचारण अनुशासनकै विषयभित्र पर्ने देखिन्छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्