फेरि आन्दोलनको तयारीमा निजी क्षेत्र

Machchapuchchre

अर्थ राजनीति ~ ऋणको साँवा–ब्याज नतिर्ने र ब्याज असुली गर्न आउने कर्मचारीलाई कालोमोसो लगाउने अभियान चलाएका व्यवसायी दुर्गा प्रसाईंका कारण एक महिनादेखि बैंक तथा वित्तीय क्षेत्र त्रसित छ । यही बेला निजी क्षेत्रका विभिन्न संघसंस्था मिलेर बैंक ब्याजदरका विरुद्धमा फेरि आन्दोलन गर्ने तयारी गरेका छन् । आन्दोलनको प्रारुप तयार गर्न भोलि शनिबार राजधानीमा देशभरका सम्पूर्ण जिल्ला, नगर उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी र सदस्यको भेला आह्वान गरिएको छ । मोरङ व्यापार संघको नेतृत्वमा हुन लागेको भेलाले नै आन्दोलनको मोडालिटी र अबका कदमका विषयमा निर्णय गर्नेछ । चर्को ब्याजदर विरुद्धको आन्दोलनमा देशभरका सबै व्यवसायीहरुको एउटै आवाज रहेकाले आन्दोलनको विकल्प नभएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालको दाबी छ । उनले देशभरिका अधिकांश जिल्ला नगर उद्योग वाणिज्य संघले व्यापार संघलाई बैंकको चर्को ब्याजविरूद्ध नेतृत्व लिन आग्रह गरेपछि संघ सक्रिय भएको बताए । देशभर भन्डै ७० देखि ८० लाख ऋणीहरु रहेको भन्दै उनले आगामी दिनमा कुनै पनि ऋणीले आत्मदाह गर्नु नपरोस् भनेर नै आन्दोलन गर्न लागिएको दाबी गरे । यसअघि राजधानीको मुख्य क्षेत्र संसद् भवन अगाडि व्यापारी प्रेमप्रसाद आचार्यले शरीरमा पेट्रोल छरेर आत्मदाह गरेका थिए । व्यवसायीहरुले माइतीघर मण्डलाबाट आन्दोलन सुरु गरी राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउ गर्ने सम्मका कार्यक्रम तय गर्न सक्ने बताइएको छ ।

मंसिर ४ को आम निर्वाचनपछि नयाँ सरकार गठनसँगै फिर्ता भएको निजी क्षेत्रको आन्दोलन फेरि सुरु गर्न लागिएको व्यवसायीले जानकारी दिएका छन् । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको आश्वासनमा व्यवसायीहरुले आन्दोलन स्थगित गरेका थिए । सत्ता गठबन्धनमा भएको हेरफेरसँगै अहिले अर्थ मन्त्रालय खाली छ । पछिल्ला दिनमा सरकारले निजी क्षेत्रको मागको कुनै सुनुवाइ नगरेको भन्दै आन्दोलनमा जाने तयारी गरिएको हो । बैंकको चर्को ब्याजदर तथा औद्योगिक वातावरणका निमित्त आन्दोलन सुरु गर्ने व्यवसायीले बताइरहँदा बिहीबारमात्र नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय सार्वजनिक गरेको छ । यद्यपि, बैंकर्स संघले घटाएको एक प्रतिशत बिन्दुको ब्याजदरमा चित्त नबुझाई व्यवसायी आन्दोलन अघि बढाउने पक्षमा देखिएका छन् । विगतमा आफूहरुले उधारो आश्वासनमात्र पाएको उल्लेख गर्दै व्यवसायीहरुले सडक आन्दोलन पुनः सुरु गर्न लागेको बताएका छन् । तत्कालीन अर्थमन्त्री पौडेलले व्यावसायिक जगत, नेपाल राष्ट्र बैंक र सरकारको त्रिपक्षीय वार्ता गरी ब्याजदर घटाउन पहल गरेका थिए । तर, उक्त निर्णय कार्यान्वयन नभएको भन्दै व्यवसायीहरु फेरि सडक आन्दोलनमै निस्किने तयारीमा देखिएका छन् । यसका लागि देशभरका व्यवसायी एकजुट भई एउटै आवाजमा जाने तयारी उनीहरुको छ । बैंक तथा वित्तीय संस्थामा धेरै रकम सर्वसाधारणबाट संकलित हो । यसको परिचालन गर्ने दायित्व मात्र बैंकको हो । संकलित रकम कर्जाको रुपमा लिने तर तिर्ने बेला अराजक गतिविधि फैलाउने व्यवसायी प्रसाईं समूहको आन्दोलनलाई अन्य व्यवसायीहरुले भने सहज रुपमा लिएका छैनन् । ऋण लिएपछि तिर्नुपर्छ भन्नेमा अधिकांश व्यवसायीको साझा धारणा छ । संघका अध्यक्ष रिजाल आफूहरुको आन्दोलन चर्काे ब्याजदर विरुद्ध भएको र प्रसाईंसँग कुनै सरोकार नभएको बताउँछन् । कर्जा लिएपछि तिर्नुपर्छ भन्नेमा आफूहरु प्रष्ट भएको उनको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्