विश्वकप फुटबलको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

Machchapuchchre

अर्थ राजनीति  ~  कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरु आज मंगलबारबाट सुरु हुँदैछ ।पहिलो सेमिफाइनल खेलमा मंगलबार राति अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । कतारको दोहास्थित लुजेल रंगशालामा नेपाली समय अनुसार राति पौने १ बजे यो खेल सुरू हुनेछ । क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुट आउटमा हराउँदै अर्जेन्टिना तथा ब्राजिललाई पेनाल्टी सुट आउटमै हराउँदै क्रोएसिया सेमिफाइनलमा पुगेका हुन् । यसअघि सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिना तेस्रो पटक विश्व च्याम्पियन बन्ने अभियानमा रहेको छ । यस्तै, सन् १९९१ मा युगोस्लाभियाबाट छुट्टिएर स्वतन्त्र राष्ट्र बनेको क्रोएसियाले सन् १९९८ मा पहिलो पटक विश्वकप खेलेको थियो । त्यतिबेला तेस्रो स्थान लिन सफल क्रोएसिया गत विश्वकपको उपविजेता रहेको थियो भने यसपटक इतिहासको पहिलो उपाधिको खोजीमा छ । यो विश्वकपलाई विश्व फुटबलका सर्वकालिन महान खेलाडीमध्येका एक लियोनल मेस्सीको अन्तिम विश्वकपको रुपमा हेरिएको छ । यसैगरी, क्रोएसियाका पनि अहिलेसम्मकै सफल खेलाडी लुका मोड्रिचको लागि पनि कतार विश्वकप अन्तिम अवसर हुनसक्छ । विश्वकपको दोस्रो सेमिफाइनल खेलमा भोलि बुधबार राति साविक विजेता फ्रान्सले मोरक्कोको सामना गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्