तरलतामा सुधार भएको गभर्नर अधिकारीको दाबी

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीभित्र तरलतामा सुधार आइरहेको बताएका छन् । नेपाल बैंकर्स संघको वार्षिक साधारणसभाको अवसरमा काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा उनले अन्तरबैंक दर साढे ८ बाट ७.०७ प्रतिशतमा झरेको समेत जानकारी दिए । उनले वित्तीय क्षेत्र अब ट्रयाकमा आएको दाबी गरे । गत वर्ष ९० अर्ब निक्षेप दोहोरो गणना भएको जानकारी गराउँदै उनले त्यसमा सुधार गरिएको बताए । अहिले स्थायी तरलता, सुविधा आउटस्ट्यान्डिङ ५ अर्बमा झरेको बताए । यसले बजारमा तरलता भित्रभित्रै सुध्रँदै गएको संकेत गर्ने उनको भनाइ छ । उनले भने, “बाहिरबाट आएर तरलता बढ्ने होइन, रिकभरी बेस ल्यान्डिङ हुनुपर्‍यो ।” यसैबीच, बैकर्स संघको साधारणसभाले कार्यसमिति सदस्यमा सन्तोष कोइराला र दीपककुमार डेको कार्यकाल दोहोर्‍याउने निर्णय गरेको छ । रिक्त एक पदमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङलाई चयन गरेको छ ।

साथै , वाणिज्य बैंकहरूले पुस महिनामा ब्याजदर नबढाउने भएका छन् । वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघले काक्तिक महिनामै कायम ब्याजदरलाई पुसमा लागू गर्ने निर्णय गरेको हो । “पुसमा ब्याजदर नबढाउने निर्णय सोमबारको बैठकले गरेको छ,” संघका एक सदस्यले भने । संघले गत फागुन महिनादेखि कायम ब्याजदरमा राष्ट्र बैंकले गरेको ब्याजदर सम्बन्धि नीतिगत व्यवस्था अनुसार १० प्रतिशतले थप गरेको थियो । अघिल्लो महिनामा लागू ब्याजदरमा १० प्रतिशत थप हुँदा असोज महिनामा व्यक्तिगत मुद्दतिको ब्याजदर १२.१३३ प्रतिशत र संस्थागत मुद्दतिको ब्याजदर १०.१३३ प्रतिशत कायम थियो । जुन कात्तिक र मंसिर महिनामा पनि सोही लागू गरिएको थियो । अब पुसमा पनि सो दर लागू गर्ने निर्णय संघले गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्