टुकुचामाथि निरन्तर डोजर: पहिलो चरणमा ७ ठूला भवन भत्काइँदै

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि इँटाको गुम्बजभित्र बगिरहेको (इच्छुमति) टुकुचा भेटेपछि टुकुचा कब्जा गर्नेहरुले धमाधम घर खाली गर्न थालेका छन् । काठमाडौं महानगरपालिकाले पहिलो चरणमा जय नेपाल हलदेखि हात्तीसार हुँदै काठमाडौं प्लाजासम्मको संरचना हटाउन थालेको छ । त्यस क्षेत्रमा ७ वटा ठूला संरचना रहेका छन् । तीमध्ये जय नेपाल हल, त्यससँगै रहेको दुईवटा भवन, काठमाडौं प्लाजा, सिटी एक्सप्रेस रहेको भवन र अर्को एउटा नौतले भवन रहेका छन् । टुकुचालाई खुला रुपमा बग्न दिने र वरिपरि करिडोर बनाउने योजनासहित चार दिनअघि जय नेपालबाट टुकुचा क्षेत्र खाली गर्न थालिएको हो । त्यस क्रममा हिजो शनिबार लक्ष्मी बैंकको छेउको रुख काटेको थियो । त्यसलगत्तै बेसमेन्टमा प्वाल पारेर ढाकिएको टुकुचा खाली गर्न सुरू गरेको हो । कामपालाई सबैभन्दा ठूलो तनाव लक्ष्मी बैंकको मुख्यालय भत्काउनु रहेको छ । कामपा शहरी विकास विभाग प्रमुख सुरज शाक्यले भन्नुभयाे– ‘हामीले दिएको सूचना पालना नगरेपछि एक्सनमा गएका हौं ।’ कामपाले टुकुचा हडपेको विषयमा ड्रोनबाट तस्वीर खिचेर पत्ता लगाएको थियो । कामपाका अनुसार सो क्षेत्रमा ३३ वटा नक्सा पास नगरी बनाइएका घर रहेका छन् । ‘पहिलो चरणमा काठमाडौं मलसम्मको क्षेत्र खाली गर्नेछौं, त्यसपछि दायाँबायाँका संरचना हटाउनेछौं । यो काम गर्न महानगरलाई अझै एक महिना लाग्न सक्छ । नारायणहिटी दरबार परिसरबाट बाहिर निस्केदेखि नै टुकुचा छोपिएको छ । छोपिएको भाग खोतलेर पूर्ण रुपमा टुकुचालाई सौन्दर्यीकरण गर्न केही दिन लाग्ने अनुमान गरिएको छ । मेसिन लगाए चाँडै खाली हुनेछ भने मान्छेले काम गरे धेरै समय लाग्नेछ’ –काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भन्नुभयाे । महानगरले पहिलो चरणमा करिब ७ अर्ब रुपियाँ खर्चेर टुकुचा खोला खाली गर्नेछ । ४ सय ४० मिटर खण्डमा टुकुचा कहाँ–कहाँ बग्छ भन्ने विषयमा कामपाले ड्रोन र स्थानीयको सहयोग लिएको थियो । महानगरले स्रोतबाटै टुकुचा सफा र खुला गर्ने तयारी गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्