चीनको एनपीसी अध्यक्ष लीले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछन्

Machchapuchchre

अर्थ राजनीति  ~  भ्रमणमा रहेका चीनको नेशनल पिपुल्स कंग्रेसका स्थायी समितिका अध्यक्ष ली झान्सु मंगलबार उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहनेछन्।

लीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यसैगरी उनले मंगलबार नै परराष्ट्रमन्त्री डा नारायण खड्का, राष्ट्रियसभाका सभामुख गणेश तिमिल्सेना, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

लीले संघीय संसद भवनमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डसँग छुट्टाछुट्टै भेट गर्नेछन् ।

त्यसपछि उनले होटल सोल्टीमा परराष्ट्रमन्त्री खड्कासँग भेट गर्नेछन् ।

त्यसपछि प्रधानमन्त्री देउवालाई भेट्न ली बालुवाटार जानेछन् ।

उनले बुधबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम छ ।

यसैबीच सोमबार नेपालको संघीय संसद र चीनको राष्ट्रिय जन कांग्रेसबीच काठमाडौंमा ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आयोजित कार्यक्रममा सभामुख सापकोटा र लीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार दुवै पक्षले एकअर्काको विधायिका, पर्यवेक्षण र शासन अभ्यासका बारेमा जानकारी आदानप्रदान गर्नेछन् ।

दुई संसदबीच भएको समझदारीपत्रमा चीनद्वारा प्रवर्द्धन गरिएको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभको पनि उल्लेख छ।

समझदारी अनुसार दुई सरकारले बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत दुई देशबीचको अन्तरराष्ट्रिय सम्बन्ध, पारस्परिक लाभ र प्रतिबद्धतालाई प्राथमिकता दिने र प्रवर्द्धन गर्न सहजीकरण गर्ने समझदारीपत्रको पाँचौं बुँदा रहेको छ ।

त्यसैगरी, दुवै पक्षले साझा हितका विषयमा अन्तर-संसदीय संघलगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय संगठनको ढाँचामा सहकार्यलाई सुदृढ गर्न सहमत भएका छन् ।

ली सोमबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा झण्डै एक सय जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेता ली नेपालको चारदिने औपचारिक भ्रमणमा छन् ।

उनी सेप्टेम्बर १५ मा विशेष उडानबाट स्वदेश फर्कनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्