देउवादेखि गगन थापासम्मका कांग्रेस नेताहरु कास्कीमा, गरे यस्तो अपील

Machchapuchchre

पोखरा । नेपाली कांग्रेसका शीर्ष नेताहरु कास्कीमा जम्मा भएका छन् । कास्की क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका लागि चुनावी अभियान लिएर तथा पार्टीका उम्मेदवार खेमराज पौडेलका पक्षमा जनमत सिर्जना गर्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि गगन थापासम्मका नेताहरु कास्की पुगेका हुन् । काँग्रेस नेता कार्यकर्ताहरुले शुक्रबार दिनभर चुनावी कार्यक्रम, सभा र र्‍यालीसमेत गरेका छन् ।

कांग्रेस शीर्ष नेताहरुले कास्कीबाट सरकारको अराजकतालाई सन्देश दिन अपिल गरेका छन् । सभापति देउवाले निकै दुःख गरेका र पार्टीमा योगदान दिएका पौडेललाई जिताएर कांग्रेसमा एकताको सन्देश दिन कार्यकर्तालाई अपिल गरेका छन् । देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रवाद खोक्रो भएको कालापानी मुद्दाले स्पष्ट देखिएको बताएका छन्।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा सरकार जनताका अधिकार कुष्ठिन गर्न तत्पर रहेको र न्यायलयसम्म हस्तक्षेत्र गरेकाले कास्की क्षेत्र नम्बर २ को निर्वाचनले सन्देश दिनुपर्ने बताए । आफूहरुले निर्विवाद नेता चुनावमा उभ्याएको भन्दै उनले सरकारलाई सच्याउन यो निर्वाचनले दबाब दिनुपर्ने धारणा राखे ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले पौडेललाई जसरी पनि जिताउन लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्। कास्की २ को चुनाव कांग्रेसका लागि पनि परीक्षा भएको उनको ठहर छ । प्रमुख सचेतक बालकृष्ण खाँडले कांग्रेस कमजोर हुँदा सबै क्षेत्र कमजोर भएको टिप्पणी गरेका छन्। त्यस्तै अर्का नेता मिनेन्द्र रिजालले संविधानको मूल प्रस्तावनामा रहेको लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार लगायतमाथि हस्तक्षेप गर्दै सरकार अधिनायकवादतिर गइरहेको आरोप लगाए ।

नेता गगन थापाले रवीन्द्र अधिकारीसँग लामो समय सहयात्रा तथा दाजुभाइको सम्बन्ध रहेको स्मरण गरे । गणतन्त्र स्थापनाका लागि रवीन्द्रको ठूलो योगदान परेको भन्दै उनले भने, ‘रवीन्द्रको आदर र सम्मान गर्छु भनेर कसैले रवीन्द्र अधिकरीको परिवारलाई भोट हाल्छु भन्नुहुन्छ भने त्यो त गणतन्त्रकै अपमान हुन्छ । किनकी गणतन्त्रमा नातागोता हेरिँदैन ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्