बालुवाटारमा ओली-प्रचण्डबीच २ घण्टा लामो छलफल, के भयो कुराकानी ?

Machchapuchchre

काठमाडौँ । स्थायी समिति बैठक सकिएलगत्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्व सभामुख–उपसभामुखका उम्मेदवार छनोटमा केन्द्रीत भएको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बिहान भेटवार्ता भएको छ । संसद सचिवालयले आगामी पुस ११ गते सभामुख–उपसभामुखको निर्वाचन प्रकृया सुरु गर्ने जनाइसकेको छ । सम्भवत दलहरुको सहमतिमा सोही दिन सभामुख उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने संसद सचिवालयको तयारी छ ।

त्यसका लागि अबको चार दिनमा दलहरुले सभामुख र उपसभामुखबारे निर्णय गर्नुपर्नेछ । यही समयसीमालाई ख्याल गर्दै नेकपा नेतृत्वको ध्यान सभामुख छनोटमा केन्द्रीत भएको हो । तर नेकपाले सभामुखमा उम्मेदवारी दिनुअघि उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुपर्ने हुन्छ । ‘अब उपसभामुख तुम्बाहाङफेको राजीनामाको विषय कुनै समस्याको विषय रहेन । तर अब सभामुख को हुन्छ भन्ने मुख्य प्रश्न हो’, बालुवाटार उच्च स्रोतले भन्यो, ‘अबको सभामुख सुवास नेम्वाङ नै हुने ९० प्रतिशत पक्का छ । तर दुई अध्यक्षबीच फाइनल नै भने भैसकेको छैन ।’

त्यसो त तुम्बाहाङ्फेले राजीनामा गरेपछि उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती पनि नेकपामा कायमै छ । यसबारेमा पनि दुई अध्यक्षबीच स्पष्ट हुन बाँकी नै छ । नेकपा नेतृत्व तुम्बाहाङ्फेलाई राजीनामा गराउने र नेकपाकै अर्का नेतालाई सभामुख बनाउने योजनामा छ । संसदको सवैभन्दा ठुलो दलको हैसियतले नेकपाले सभामुख नछाड्ने यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड सोमबार बिहान बालुवाटार पुगेर आगामी योजनाबारे छलफल गरेका हुन् । सभामुख÷उपसभामुखको चयन र एमसीसीबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार उनीहरुबीच झण्डै दुई घण्टा सभामुख र उपसभामुख चयनबारे छलफल भएको हो । नेकपामा सभामुखका लागि यसअघि तीन जनाको नाम बढी चर्चामा आएको थियो । जसमध्ये नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, हाल उपसभामुख रहेकी शिवमाया तुम्वाङ्फे र नेता अग्नि सापकोटा ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सभामुखका लागि नेम्वाङलाई अगाडि सारेका छन् भने अर्का अध्यक्ष प्रचण्डले नेता अग्नि सापकोटालाई जिम्मेवारी दिन चाहेका छन् । त्यसैगरी तुम्बाहाङ्फेलाई नेकपाकै केही महिला सांसद र राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख बनाउनुपर्ने आशय प्रकट गरिरहेका छन् । पूर्व माओवादी बृत्तबाट सापकोटालाई सभामुख बनाउनुपर्ने चर्को दवाव प्रचण्डलाई छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्