नेपाल बंगलादेश बैंकबाट ज्ञानेन्द्र ढुंगानाको अवकाश

Machchapuchchre

अर्थ राजनीति  ~   एनबीको भविष्यका लागि निकै महत्वको डिल चलिरहेका बेला प्रमुख कार्यकारीबाट ज्ञानेन्द्र ढुंगानाको अवकाश भएको छ। एक दशकदेखि व्यवस्थापकीय नेतृत्व गरेका ढुंगानाले एनबी बैंकको वित्तीय अवस्था सुधारमा निकै काम गरेका हुन्। ढुंगानाले बैंकिङ करिअर एकाएक निजी क्षेत्रको वित्तीय संस्थाबाट थालेका होइनन्। नेपाल राष्ट्र बैंकको निर्देशकबाट राजीनामा दिएपछि उनको बाटो निजी क्षेत्रका वित्तीय संस्थाको व्यवस्थापकीय जिम्मेवारी हुँदै एनबीसम्म आइपुगेको हो। राष्ट्र बैंक छाडेपछि उनी नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको महाप्रबन्धकमा नियुक्त भएका थिए। त्यहाँ एक वर्ष ‘सेकेन्ड म्यान’ को जिम्मेवारी सम्हालेपछि नेपाल बंगलादेश (एनबी) बैंकमा प्रमुख कार्यकारी अधिकृत बनेर भित्रिएका हुन्। पुस १२ मा एनबी बैंकको प्रमुख कार्यकारीबाट अवकाश भएका उनी कुलिङ पिरियडपछि पुनः नयाँ भूमिकामा देखा परे भने बैंकरहरुबीच नौलो घटना मानिने छैन। किनभने उनी वित्तीय क्षेत्रमा काम गर्न अनुभवी र ऊर्जाशील मानिन्छन्। उनी जुनबेला एनबी बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए- त्यसबेला बैंकको खराब ऋण अनुपात (एनपीए) १८ प्रतिशत थियो। ४ अर्ब रुपैयाँ जति बिग्रिएको ऋण वासलातबाट हटाइएको (राइट अफ) थियो। बैंक नोक्सानीमा थियो। पुँजी पर्याप्तता अनुपात (सीएआर) ४ प्रतिशतमा झरेको थियो। ऋण जम्मा ९ अर्ब रुपैयाँ थियो। निक्षेप ११ अर्ब रुपैयाँ थियो। सञ्जाल १२ वटा थिए। व्यापार व्यवसाय गर्न राष्ट्र बैंकले रोक लगाएको थियो। वित्तीय अवस्था असाध्यै खराब थियो। त्यस्तो बैंकलाई आज ढुंगानाले नाफामा मात्र होइन, सबै वित्तीय सूचकलाई राम्रो बनाएका छन्। हरेक वर्ष लाभांश बाँड्ने क्षमतामा पुर्‍याएका छन्।  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको व्यवस्था (एक संस्थामा बढीमा दुई कार्यकाल) अनुसार उनी अवकाश भएका हुन्। ३० वर्ष लामो बैंकिङबाट ढुंगानाले अल्पविराम लिएका छन्। उनी वित्तीय क्षेत्रमै फर्किने र योगदान गर्ने योजनामा छन्। यद्यपि राष्ट्र बैंकको ‘कुलिङ पिरियड’ ले उनलाई ६ महिना भने रोक्छ। ‘म अहिलेलाई रिटायर्ड भएको हो, टायर्ड होइन,’ उनि बताउछन्। बजारमा भएको चर्चालाई पत्याउने हो भने- उनले जेठपछि नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत हुने छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्