” काठमाडौं चलायमान सहर हो, सुरक्षा जिम्मा सरकारले लिन्छ : गृहमन्त्री लामिछाने

Machchapuchchre

Artharajniti  ~  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं चलायमान सहर भएको बताएका छन् । ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला भएको घोषणा कार्यक्रमलाई वैशाख १ गते ठमेलमा सम्बोधन गर्दै उनले जतिखेर पनि, जहाँ पनि सुरक्षित भएर मानिसहरु आवतजावत गर्न सक्ने बताए । आफू पनि परिवारसहित ठमेल आएको भन्दै उनले परिवारसहित सबैले घुम्ने वातावरण बन्ने बताए । महिलाहरु समेत सुरक्षित हुने गरी र स्थानीयको माग सम्बोधन हुने गरी सरकार अगाडि बढेको उनले बताए । यसअघि एक अन्तर्क्रिया कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले ठमेल आवास क्षेत्र पनि रहेको भन्दै चौबिसै घण्टा व्यवसाय खोल्दा होहल्ला नियन्त्रण हुनुपर्ने स्थानीयको माग र चासो सम्बोधन हुनुपर्ने बताएकी थिइन् । सो चासोतर्फ इङ्गित गर्दै गृहमन्त्री लामिछानेले स्थानीयको माग सम्बोधन हुने गरी सरकार अघि बढेको बताएका हुन् । ‘यहाँ आमाको निन्द्रा पनि छ । छोराछोरीको सपना पनि छ,’ गृहमन्त्री लामिछानेले भने । पोखरा लगायतका सहर २४ सै घण्टा खुला भइसकेको उल्लेख गर्दै गृहमन्त्री लामिछाने काठमाडौंमा पनि यसको सुरुवात भएको बताए । काठमाडौंबाट सिकेर देशका अन्य सहरहरु पनि खुला हुने उनले बताए ।  ‘नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्रीको हैसियतमा बाचा गर्न चाहन्छु- यहाँ आउने हरेक नागरिक चाहे विदेशी हुन्, चाहे स्वदेशी हुन्, सबै समान छन्, सबै सुरक्षित छन् । यसको जिम्मा नेपाल सरकारले लिन्छ । गृह मन्त्रालयले लिन्छ । नेपाल प्रहरीले लिन्छ  ’गृहमन्त्री लामिछानेले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्