राष्ट्र बैंकको समीक्षा रिपोर्टमा बैंक ब्याजदर घट्दो

Machchapuchchre

काठमाडौं । पछिल्लो समय बैंकहरुको ब्याजदर घट्न थालेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको कात्तिकको आधार दर ९.५० प्रतिशत कायम भएको छ । असोजमा बैंकहरुको आधार दर ९.५६ प्रतिशत थियो ।

अघिल्लो वर्षको कात्तिकमा भने बैंकहरुको आधार दर १०.२१ प्रतिशत थियो । यसरी हेर्दा कात्तिकमा असोजको तुलना र अघिल्लो वर्षको सोही अवधिको तुलनामा समेत बैंकको ब्याजदर घटेको देखिएको छ ।

राष्ट्र बैंकको समीक्षा अनुसार वाणिज्य बैंकहरुको आधार दर भदौमा ९.५३ प्रतिशत तथा साउनमा ९.४५ प्रतिशत थियो । यो कोणबाट हेर्दा बैंकहरुको आधार दर भदौ र असोजको तुलनामा कात्तिकमा घटेको छ भने साउनको तुलनामा भने सामान्य बढेको छ ।

२०७५ कात्तिकमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर २.२० प्रतिशत रहेकोमा २०७६ कात्तिकमा ३.८३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरु बीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ को १.६८ प्रतिशतको तुलनामा २०७६ कात्तिकमा २.५९ प्रतिशत कायम भएको छ ।

२०७६ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.८१ प्रतिशत र कर्जाका भारित औसत ब्याजदर १२.०७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.६१ प्रतिशत र १२.२६ प्रतिशत रहेका थिए । नेपाल राष्ट्र बैंक ले बुधबार सार्वजनिक गरेको मुलुकको वित्तीय अवस्थाको समीक्षा रिपोर्टमा यस्तो देखिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्