वागमती प्रदेश: मुख्यमन्त्रीको छिनोफानो दशैंपछि

Machchapuchchre

अर्थ राजनीति  ~  वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दशैं पछिमात्र विश्वासको मत लिने हुनुभएको छ । आइतबार बसेको प्रदेशसभाको अधिवेशनमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने भनिए पनि बैठकमा विश्वासको मतको प्रस्ताव टेबुल मात्र भएको हो । मत विभाजन प्रक्रिया भने अर्को बैठकमा गरिने भएको छ । यसले वर्तमान सरकारको आयु दशैंसम्मका लागि लम्बिएको छ । सत्तापक्षको आग्रहअनुसार दशैंपछि मत विभाजन गर्ने सहमति भएको प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले बताउनुभयो । दलहरूको सहमतिमा कात्तिक पहिलो साता मात्र मत विभाजन गर्ने तयारी प्रदेशसभा सचिवालयले गरेको छ । सत्तापक्षले दशैंपछि मतविभाजनको प्रस्ताव गरेपछि आफूहरू सहमत भएको भन्दै कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले कार्यव्यवस्था समितिको बैठकमा यसबारे सहमति नजुटेपछि शीर्ष नेताहरूसहित बसेको सर्वदलीय बैठकमार्फत कात्तिक पहिलो साता मत विभाजन गर्ने सहमति भएको बताउनुभयो । स्पष्ट अल्पमतमा पर्नुभएकी मुख्यमन्त्री शाक्यले सोमबार अर्थात् असोज २५ गतेसम्म विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता थियो । अल्पमतमा परेको ३० दिनभित्र संसद् मा विश्वासको मतको प्रस्ताव टेबुल गर्नुपर्ने भएकाले आइतबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले संविधानबमोजिम विश्वासको मतको प्रस्ताव टेबुल गर्नुभएको हो । मुख्यमन्त्री शाक्यले प्रस्ताव पेस गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक कात्तिक ४ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको छ । मुख्यमन्त्री शाक्यले राजनीतिक दलबीच एक–आपसमा विवाद रहे पनि जनताको हित र राष्ट्रियताका निमित एक ढिक्का भएर हिँड्नुपर्ने अवस्थामा वर्तमान मन्त्रिपरिषद्लाई विश्वासको मत प्रदान गर्न आग्रह गर्नुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्