रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडमा चार जनाको मृत्यु

Machchapuchchre

अर्थ राजनीति  ~  रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसीएमएस) का जनसम्पर्क अधिकृतले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का रमेश परियार रहेका छन् । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अन्य तीनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको गुरुङले बताए । मृत्यु भएकाहरु सर्वसाधारण हुन् । अस्पतालमा अन्य पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रहरीले अस्थायीरूपमा बनाइएका टहराहरूसमेत भत्काएको छ । झडपमा परी कैयौँ घाइते भएका छन् । सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । तर अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ । जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले विरोध गरेका थिए । करिब २०० बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । विसं २०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरू प्रहरीले भत्काउन थालेपछि स्थिति तनावग्रस्त बनेको हो ।

यसैबीच स्थितिलाई नियन्त्रण लिन स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि अपराह्न ४ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ । आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । तिवारीले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको बताए । यसअघि चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेपछि कार्यक्रम बिथोलिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्