राष्ट्रिय सभा सदस्यको चुनावमा एक अर्कालाई सघाउने राजपा र नेकपाबीच सहमति

Machchapuchchre

काठमाडौं । प्रदेश २ मा आगामी माघ ९ गते हुने राष्ट्रियसभा चुनावमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच सहकार्य हुने भएको छ । रिक्त रहेका राष्ट्रिय सभा सदस्याका लागि आउँदो माघ ९ गते हुने चुनावमा प्रदेश दुईमा दुई पार्टीले सहकार्य गर्ने भएका हुन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ राजपाका अध्यक्ष मण्डलका सबै सदस्यको उपस्थितिमा दुई बुँदे सहमति भएको हो ।

सहमतिमा प्रदेश दुईमा रिक्त रहेका चार सदस्यमध्ये दुईमा राजपालाई नेकपा र दुईमा नेकपालाई राजपाले सहयोग गर्ने उल्लेख रहेको छ । अन्य पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त रहेको २ स्थानमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्नेए भएको छ । त्यस्तै महिला र दलित पुरुष समूहको २ स्थानमा नेकपाका उम्मेदवारलाई राजपाले सहयोग गर्ने भएको छ ।

त्यस्तै दुई पार्टीबीच राष्ट्रिय राजनीतिक समसामयिक विषयहरुमा नियमित रुपमा छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अघि बढाउने सहमतिको दोस्रो बुँदामा उल्लेख रहेको छ । पटक-पटक मधेसका मुद्दालाई सम्बोधन नगरेको भन्दै सरकारको आलोचना गर्ने राजपा यस पटक भने सत्तारुढ दलसँगै सहकार्य गर्ने भएको छ ।

उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ । राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै चुनावी गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्