सञ्चार प्रविधिको प्रवर्द्धन गर्न सरकार क्रियाशील- मन्त्री बाँस्कोटा

Machchapuchchre

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिको अधिकतम उपयोगबाट देशलाई विकासको मार्गमा अघि बढाउन सकिने बताएका छन् । उनले राष्ट्रको सामाजिक–आर्थिक रुपान्तरणका लागि सूचना तथा सञ्चार प्रविधिको प्रवर्द्धन गर्न सरकार क्रियाशील रहेको उल्लेख गरे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको ‘डिजिटल नेपाल फ्रेमवर्क–२०७६’ भेलामा सरकारका प्रवक्ता बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) लाई नेपालको कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र शहरी पूर्वाधारका क्षेत्रमा अधिक उपयोग गर्ने लक्ष्यका साथ ८० वटा कायक्रम कार्यान्वयन गर्ने योजनाका साथ सरकार अघि बढेको बताए ।

दुनियाँमा ज्ञान र डिजिटल पहुँच भएका मानिसले बढी सम्पत्ति आर्जन गरेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले आधुनिक युगमा प्रविधिको ठूलो महत्व र आवश्यकता भएकाले त्यसलाई प्रवर्द्धन गर्न आफू लागिपरेको बताएका थिए ।

उनले भने, “मुलुकमा डिजिटल प्रविधिलाई अघि बढाउन मन्त्रालयले पाँच वर्षको योजना बनाएर कार्यान्वयनको तयारीमा अघि बढाएको छ ।” सूचना प्रविधिका क्षेत्रमा काम गर्ने निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने मन्त्री बाँस्कोटाले बताए । उनले भने, “मुलुकमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने अर्थतन्त्रको एक परियोजनाका रुपमा डिजिटल प्रविधिलाई मन्त्रालयले लिएको छ ।”

डिजिटल प्रविधिप्रति नयाँ पुस्ताको आकर्षण रहेको मन्त्री बाँस्कोटाले दाबी गरे । सो क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणका लागि निजी र सरकारी क्षेत्रलाई समेटेर एकीकृतरुपमा समन्वय गरेर अघि बढ्दा सजिलै उपलब्धी प्राप्त गर्न सकिने उनको भनाइ छ । मुलुकमा राजनीति अस्थिरता समाप्त भएर मुलुक आर्थिक क्रान्तिका रुपमा अघि बढेकाले विकास साझेदार संस्थालाई सरकारले खुलेर सहयोग गर्ने मन्त्री बाँस्कोटाले उल्लेख गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्