ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित

Machchapuchchre

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित भएको छ । ट्रम्पलाई महाभियोग लगाउने या नलगाउने भन्नेबारे अमेरिकी तल्लो सदनमा बुधबारदेखि बहस चलेको थियो । बहसपछि नेपाली समयअनुसार बिहीबार बिहान भएको मतदानमा बहुमत सांसद् ट्रम्पविरुद्ध खडा भएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, महाभियोगको पक्षमा २३० र विपक्षमा १९७ मत परेको छ । महाभियोगका लागि २१६ मत आवश्यक पर्नेमा त्यसभन्दा १४ मत बढी परेको हो । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिएपछि शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाभियोग लागेको बताएकी छन् ।

तल्लो सदनबाट महाभियोग लाग्ने ट्रम्प अमेरिकाका तेस्रो राष्ट्रपति हुन् । अब यसबारे माथिल्लो सदनले छिनोफानो गर्नेछ । माथिल्लो सदनमा भने ट्रम्पको पार्टी रिपब्लिकन सांसदहरुको बहुमत छ । ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनको साथ मागेर पद दुरुपयोग गरेको आरोप लागेको छ ।

पूर्व उपराष्ट्रपतिसमेत रहेका जो बाइडन र उनका छोरालाई भ्रष्टाचारको मुद्दामा फसाउन युक्रेनी समकक्षीलाई ट्रम्पले टेलिफोन गरेको दाबी विपक्षीको छ । यसबारे विभिन्न सुनुवाइ गरेको तल्लो सदनले मतदानमार्फत ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित गरेको हो ।

डोनल्ड ट्रम्प अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट महाभियोग लगाइएका तेस्रो अमेरिकी राष्ट्रपति बनेका छन्। अब त्यो मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ जसले उनी राष्ट्रपति रहने वा नरहने भन्नेबारे निर्णय गर्नेछ।

तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा मतदान गरेको छ। त्यो ट्रम्पविरुद्धका दुई महाभियोग आरोपहरू मध्येको एक थियो। मतदान हुँदा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो।

मत पार्टीको लाइन अनुसार नै खसेको थियो किनकि अधिकांश डेमोक्र्याट सदस्यले आरोपको पक्षमा र रिपब्लिकनहरूले आरोपको विपक्षमा मत हालेका थिए। ट्रम्पले अब महाभियोगको दोस्रो आरोपको रूपमा रहेको कंग्रेसलाई अवरुद्ध तुल्याएको विषयमा मतदानको सामना गर्नेछन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्