नेकपा स्थायी कमिटी बैठकमा ओली-प्रचण्डमाथि यसरी खनिए जनार्दन शर्मा र गोकर्ण बिस्ट

Machchapuchchre

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा लफडा भएको छ । बैठकमा नेताहरुले मुख्य नेतृत्वको आलोचना गरेका छन् । बैठकमा पार्टी स्थायी समिति सदस्य सदस्य जनार्दन शर्मा र गोकर्ण बिस्टले मन्त्रिमण्डल पुर्नगठनबारे असन्तुष्टी जनाएका छन् । नेकपा स्थायी कमिटी बैठकमा जनार्दन शर्माले मन्त्री परिवर्तनलाई लिएरु असन्तुष्टी जनाएका हुन् ।

‘सरकार र मन्त्रीहरूको मुल्यांकन सरकार कै मान्छेले दिएका नम्बरका आधारमा नभई मन्त्रीहरूको कामको परिणामका आधारमा जनताको बुझाईमा आधरित भई पार्टीले गर्नु पर्दछ’, उनले भनेका छन्, ‘आज दुई तिहाई बहुमत त भयो उक्त राजनैतिक स्थायीत्वलाई नेताहरू आफैले दिन दिनै मन्त्री हटाउने कुरा गरेर अस्थिर बनाई राखे यो बेठिक भएको छ ।’ साथै उनले सरकारको कामलाई लिएर पनि असन्तुष्टी पोखेका छन् । उनले भनेका छन्, ‘सरकारको रणनीति र कार्यनीति बीच तालमेल भएन ।

रणनैतिक महत्त्वका योजनाको काम र कुरा भैरहँदा जनता तत्कालिन अवश्यकता साँझ बिहानको प्रश्न प्रति ध्यान पुगेन ।’ उनले जनताले कम्युनिष्ट सरकारबाट नयाँ शुरूवात खोजेका हुन् पुरानो निरन्तरता होइन भन्दै आक्रोश पोखेका छन् । नेता शर्माले पुरानो कर्मचारीतन्त्र नयाँ अवश्यकतामा सञ्चालन गर्नुको सट्टा कर्मचारीतन्त्रले कम्युनिष्ट सरकार र मन्त्रीहरू सञ्चालन गर्ने अवस्था पुच्छरले कुकुर हल्लाय जस्तो हुन पुगेको बताएका छन् ।

यस्तै नेकपाका स्थायी समिति सदस्य गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा आफ्नो आत्मसम्मानमा चोट पुगेको बताएका छन् । आइतबारदेखि जारी सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा अध्यक्षद्वयले पेस गरेको प्रतिवेदनमाथि आफ्ना सुझाव दिनेक्रममा पूर्वमन्त्री समेत रहेका विष्टले मन्त्रीबाट हटाउनु पहिले राजीनामा मागेको भए आफुहरु राजीनामा दिन पहिलै तयार रहेको बताएका छन् ।

स्थायी समिति सदस्यको नाताले मन्त्रीबाट हटाउनु पहिले पार्टीले सामान्य जानकारी गराएर बाटो खाली गरिदिन भनेको भए बरु त्यसलाई आफूले सहज लिन सक्ने बताएका छन् । अयोग्य जस्तो गरी मन्त्रीबाट हटाउँदा आत्मसम्मानमा चोट पुगेको पनि विष्टले बताएका छन् ।

बैठकमा बुधबार १२ जना सदस्यले आफ्ना सुझाव राखेका छन् । मातृका यादव, बर्षमान पुन, लिलामणी पोखरेल, प्रदीप ज्ञवाली, गिरिराजमणी पोखरेल, रघुजी पन्त, गोकर्ण विष्ट, हरिबोल गजुरेल, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेलले सुझाव राखेका छन् ।

यस्तै बैठकमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) इन्डोप्यासिफिक रणनीतिकै हिस्सा भएको भन्दै केही सदस्यहरुले संसदबाट अनुमोदन गर्न नहुने मत राख्दै आएका छन् । केहीले भने विगतकै प्रक्रिया भएको हुँदा अहिले अनावश्यक विवाद गर्न नहुने तर्क पनि राखेका छन् ।

बुधबार बैठकमा आफ्ना सुझाव राख्दै स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले एमसीसी इण्डोप्यासिफिक रणनीतिको अंग नभएको बताएका छन् । स्थायी समिति सदस्यहरु भीम रावल, देव गुरुङ्, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगाएतका नेताले एमसीसी संसदबाट अनुमोदन गर्न नहुने तर्क राखेका थिए ।

‘एमसीसी इण्डोप्यासिफिक रणनीतिको अंग होइन, यो पहिला देखिकै प्रक्रिया हो । हामी यसमा लागि सक्यौँ, अब विरोध गरेर मात्रै हुँदैन । यसलाई ल्याण्डिङ् गर्नुपर्छ, परराष्ट्र मन्त्री समेत रहेका ज्ञवालीको भनाई उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने । अर्को बैठक बिहीबार ११ बजे बस्ने भएको छ । बैठकमा नेकपा अध्यक्ष प्रचण्ड सहभागी छन् भने अर्का अध्यक्ष केपी ओली सहभागी छैनन्

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्