आव २०७७/०७८ मा बैंकको कर्जा वृद्धि दोब्बर , ८ खर्ब १८ अर्ब

Machchapuchchre

अर्थ राजनीति  ~  कोरोनाको महामारीका कारण आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी भने दोब्बरले वृद्धि भएको छ ।
नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको कर्जा दोब्बरले वृद्धि भएको छ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६-०७७ मा ४ खर्ब ५ अर्ब कर्जा लगानी गरेकोमा आव २०७७-०७८ मा ८ खर्ब १८ अर्ब कर्जा वृद्धि भएको छ । गत आर्थिक वर्षसम्ममा बैंकहरुको कुल कर्जा ३७ खर्ब २१ अर्ब पुगेको छ । यसैगरी गत आवमा वाणिज्य बैंकहरुको निक्षेप ७ खर्ब १४ अर्ब रुपैयाँले वृद्धि भएको छ । अघिल्लो वर्ष बैंकहरुको निक्षेप ६ खर्ब १५ अर्ब रुपैयाँले बढेको थियो । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कोभिड प्रभावित उद्योगी व्यवसायीको कर्जा पुनर्संरचना गर्न पाउने सुविधा दिएको थियो । यो सुविधाका कारण बैंकहरुले कोभिड प्रभावित कर्जाको पुनर्संरचना गर्दा पनि ऋण विस्तार भएको छ । यसबाहेक सरकारले कोभिड प्रभावित उद्योगी व्यवसायीलाई सहुलियत ब्याजदरमा पुनर्कर्जाका साथै व्यवसाय निरन्तरता कर्जासमेत दिएको थियो । २०७८ जेठ मसान्तसम्ममा १ खर्ब ४८ अर्ब ३५ करोड सहुलियत दरको पुनर्कर्जा स्वीकृत भएकोमा १ खर्ब २७ अर्ब ९ करोड लगानीमा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ बमोजिम कोरोना प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि २०७८ जेठ मसान्तसम्ममा ८२ करोड २४ लाख कर्जा स्वीकृत भएको छ । यसबाहेक बैंकहरुले आफ्नो वित्तीय अवस्था राम्रो देखाउनका लागि समेत नयाँ शिर्षकमा छोटो अवधिका ऋण दिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने पनि बैंकहरुले छोटो अवधि र व्यक्तिगत प्रयोजनमा खर्च गर्न सकिने प्रकृतिका कर्जा लगानी वृद्धि गरेका छन् । गत आवको जेठसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये सबैभन्दा बढी मार्जिन प्रकृतिको कर्जा ८७.६ प्रतिशतले बढेको छ । निषेधाज्ञाका कारण अन्य क्षेत्रको लगानी प्रभावित हुँदा पनि सेयर लगानी भने बढिरेहेको छ । जसका कारण बैंकहरुको समेत यस क्षेत्रमा कर्जा बढेको देखिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्