विप्लवले राजनीतिक भेटघाटलाई तीव्रता दिदै

Machchapuchchre

अर्थ राजनीति  ~  खुला राजनीतिमा आएपछि पनि झण्डै पाँच महिनासम्म ‘गुमनाम’ बनेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पछिल्ला केही दिनयता राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीनबुँदे सम्झौता गरेर भूमिगत राजनीति परित्याग गरेका चन्दको ओली सत्ताबाट बाहिरिएसँगै भइरहेको राजनीतिक भेटवार्तालाई चासोका साथ हेरिएको छ । पछिल्ला एक साताभित्र चन्दले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराई, आफ्ना राजनीतिक गुरु एवं नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा र प्रभु साह, एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । राजनीतिक भेटवार्ता मूलतः सरकार र नेकपाबीच गत २० फागुनमा भएको तीनबुँदे सहमति कार्यान्वयनको अवस्था र वर्तमान राजनीतिक परिस्थितिका बारेमा केन्द्रित रहेको प्रस्ट देखिएको छ । विशेषतः प्रचण्डसँगको भेटमा चन्दले ओली नेतृत्वको सरकारसँग भएका सहमति शेरबहादुर देउवा नेतृत्वको सरकारले कुन ढङ्गले ग्रहण गर्छ भन्ने विषयमा कुराकानी गरेको बुझिएको छ । नेकपाका नेता धर्मेन्द्र बाँस्तोला मुख्यतः दुई बुँदामा केन्द्रित रहेर राजनीतिक भेटवार्ता भएको बताउँछन् । सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन र वर्तमान राजनीतिक जटिलताको निकासका बारेमा महासचिव चन्दले छलफल गरेको उनले बताए ।

नेकपाले सरकारसँग प्रगतिशील संयुक्त सरकार, जनमत सङ्ग्रह र वैज्ञानिक समाजवाद निर्माणका लागि बहस र छलफल चलाउने तीनबुँदे सहमति गरेको थियो । सोही सहमतिका आधारमा सरकारले नेकपाको गतिविधिमाथि लगाइएको प्रतिबन्ध हटाएको थियो । सरकारसँग भएको सहमतिअनुसार पक्राउ परेका कार्यकर्ता रिहा नभएको भन्दै नेकपाले सहमतिको कार्यान्वयनमा आशङ्का व्यक्त गर्दै आएको छ । अझै पनि नेकपाका कार्यकर्ता विभिन्न मुद्दामा कारागारमा थुनामा छन् । ‘अझै १२० भन्दा बढी हाम्रा कार्यकर्ता कारागारमा छन्’, नेता बाँस्तोलाले भने, ‘कार्यकर्ता रिहाइमा भएको ढिलाइ विषयमा पनि भेटमा छलफल भएको हो ।’मोहन वैद्यसँगै तत्कालीन नेकपा (एकीकृत माओवादी) फुटाएर अलग्गै पार्टीमा लागेका चन्दको वैद्यसँगको सहकार्य पनि लामो समय जान सकेन । वैद्यको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न हुन नसक्ने भन्दै उनले छुट्टै पार्टी बनाएर अगाडि बढे ।ओली नेतृत्वको सरकारले चन्द नेतृत्वको नेकपाको गतिविधि गैरराजनीतिक प्रकृतिको भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्