सरकारमा गएर पनि राम्रो काम गर्न सकिरहेको छैनः नेता ठाकुर

Machchapuchchre

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूहरुले सरकारमा सहभागी भएपनि सोचे जस्तो काम गर्न नसकिरहेको बताएका छन् । मधेश संवाद समूहले मंगलबार आयोजना गरेको ‘नागरिकता अध्यादेश र सर्वोच्च अदालतको अन्तरिम आदेश’ विषयक भर्चुअल गोष्ठीमा उनले आफूहरु सरकारमा भएपनि देशको ब्युरोक्रेसी लगायत आफूहरुको पक्षमा नरहेको कारणले सोचेजस्तो काम गर्न नसकेको बताएका हुन् ।‘अहिले पनि मधेश तथा थरूहटमा थुप्रै समस्याहरु छन्, हामी त्यसका लागि निरन्तर आवाज उठाइरहेका छौं’, उनले भने । तर राज्य त्यस्ता समस्याप्रति गम्भीर नभएको गुनासो गर्दै उनले माग पुरा भएन भने पीडित समुदाय सडकमा पनि आउन सक्ने भएकाले बेलैमा राज्य सचेत हुनुपर्नेमा जोड दिए । नागरिकताको समस्या मधेशको मात्र नभएर पुरै देशको समस्या रहेको बताउँदै उनले प्रतिनिधिसभाले तीन वर्षसम्म विधेयक पास नगरेको कारण यो सम्बन्धी अध्यादेशबाट आएको बताए । उनले भने, ‘हाम्रो माग पनि थियो, प्रतिनिधिसभाले गर्न सकेन भने अध्यादेशबाट भएपनि यो समस्या समाधान गर्नुपर्छ र प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो,’ उनले भने। नागरिकता सम्बन्धी अध्यादेशको  ठाउँ ठाउँमा स्वागत भएपनि त्यसलाई अदालतले कार्यान्वयन नगर्न आदेश दिएको भन्दै उनले सर्वोच्चको आदेश मान्नैपर्ने भएपनि सो समस्या मानवअधिकारसँग सम्बन्धित कुरा रहेकाले समाधान सोही अनुसार गर्नुपर्ने बताए । नागरिकताविहिन नागरिक देशमा राज्य विहिन भएर बाँचिरहेको पनि उनले बताए । ‘यही देशको नागरिक भएर विदेश जान पाएको छैन, बैंकमा खाता खोलाउन सकेको छैन, कलेजमा भर्ना गर्न पाएको छैन, कुनै ठाउँमा जागिर खान सकिरहेको छैन उनले बताए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्