सेयर बजारमा उतार चढाव जारी

Machchapuchchre

अर्थ राजनीति  ~  गत मंगलबार नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गर्दै जोखिमयुक्त भनेपछि त्यसको ‘परकम्पन’ सेयर बजारमा जारी नै  छ । बोर्डको विज्ञप्तिपछि भएका चार कारोबारमध्ये तीन दिन उच्च अंकले सेयर बजारमा गिरावट देखियो । बोर्डको विज्ञप्ति सार्वजनिक भएको भोलिपल्ट सेयर कारोबार मापक नेप्से परिसूचक ५२ अंकले घट्यो । त्यसको भोलिपल्ट १ अंकलेमात्रै घटेको बजार आइतबार र सोमबार भने ठूलो अंकको पहिरो गयो । पछिल्ला चार कारोबारबाट नेप्से परिसूचक करिब २ सय अंकले घटेको छ ।यससँगै सेयर बजारमा एक किसिमको ‘त्रास’ पैदा भएको छ । सेयर बजार निकै घट्ला कि भनेर कोही त्रासमा परेका छन् भने कोही नियामकीय कारबाहीमा परिएला कि भनेर तर्सिएको जानकारहरू बताउँछन् । धेरै कित्ता सेयर किन्न बस्दा धितोपत्र बोर्डले शंकाको दृष्टिले हेर्ने हो कि भन्ने चिन्ता देखिएको सेयर लगानीकर्ता  बताउँछन् । बोर्डले इन्साइडर ट्रेडिङ र सेयर कर्नरिङका विषयमा अध्ययन गर्दै गरेको बताएपछि धेरै लगानीकर्तामा त्रास छ । ‘ठूलो संख्यामा अर्डर बस्यो कि बोर्डबाट फोन आउन सक्ला भनेर डर हुन्छ,’  एक लगानीकर्ता भन्छन्, ‘पछिल्लो गतिविधिले ट्रेडिङमा त्रास छ, केही दिन चुप लागेर बस्नु नै बेस होला ।’सोमबार बजार उच्च अंकले घटे पनि केहि कम्पनीहरूको सेयर मूल्य अत्यधिक बढ्यो । जस्तो नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सोमबार पोजिटिभ सर्किट लेभलमा कारोबार भएको छ । यसबाहेकका कुमारी बैंकको संस्थापक समूहको सेयर र एनआईडीसीएलको सेयर मूल्य पनि निकै राम्रो वृद्धि भएको छ ।

उता घटेका कम्पनीहरूको पनि कारोबार रकम राम्रो छ । नेपाल रिइन्स्यारेन्सको १ अर्ब ३० करोड रुपयाँ भन्दा माथिको कारोबार भएको छ । धेरै बढ्नेमा देखिएको एचआईडीसीएलको सेयर ३१ करोड रुपैयाँ भन्दा धेरेको किनबेच भएको छ । आइतबार उच्च अंकको गिरावट आउँदा पनि नेशनल हाइड्रोको सेयर मूल्य बढेको थियो । सोमबार मूल्य घटे पनि कारोबार भएको सेयर संख्याका आधारमा यो पहिलो नम्बरमा देखिएको छ । सोबमार नेप्से ७१ दशमलव ०६ अंकले घटेर २ हजार ८ सय ३४ दशमलव ४० अंकमा झरेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८ दशमलव ३७ अंकले घटेर ५२० दशमलव १८ अंकमा झरेको छ । कारोबार रकम भने करिब १२ अर्ब पुगेको छ । १ लाख ३० हजार ३९७ कारोबारबाट २२७ कम्पनीको २ करोड ३० लाख ११ हजार ८२० कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६०४ रुपैयाँ पुगेको छ । सोमबार धेरै गुमाउनेमा फाइनान्स कम्पनी र दोस्रोमा जलविद्युत् कम्पनीहरू देखिएका छन् । विकास बैंक समूहमा ४ दशमलव ६ प्रतिशतले गिरावट आएको छ । धितोपत्र बोर्डको विज्ञप्तिपछि जोखिमयुक्त भनिएका कम्पनीको सेयर मूल्य त घट्नु स्वभाविक थियो । तर, जोखिम छ भनिएका बाहेकका राम्रा लाभांश दिने तर कम सेयर मूल्य भएका कम्पनीहरूको मूल्यमा समेत ठूलो गिरावट देखिएको छ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बजारमा धक्का पर्नुका मूख्य तीन कारण रहेको बताउँछन् । पहिलो- ठूला लगानीकर्ता पैसा बोकेर रमिते भएर बस्नु, दोस्रो- ट्रेडरहरूले नाफा बुक गर्नु र तेस्रो- नवप्रवेशीहरू आत्तिनु ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्