Artharajniti ~ नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिलाई लिएर उठेका विवाद समाधान गर्नुको सट्टा सरकारलाई प्रश्न गर्ने नागरिकमाथि धरपकड गरिएको भन्दै आपत्ति जनाएका छन् । पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मध्यरातमा नागरिकलाई पक्राउ गर्ने र पछि छोड्ने सरकारी व्यवहारको आलोचना गरेका हुन् । उनले सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने बताएका छन् । लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्व बोकेको संस्थाको नेतृत्वमा नियुक्ति गर्दा लोकप्रियता मात्रै नभई योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहितालाई समेत आधार बनाउनुपर्ने पौडेलको भनाइ छ । उनले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थलका रूपमा मात्रै नभई नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदाका रूपमा व्याख्या गरेका छन् । आनी छोइङ डोल्माको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठेको उल्लेख गर्दै पौडेलले ती प्रश्नको जवाफबिना सरकारले नियुक्तिको औचित्य र छनोटका आधार स्पष्ट पार्न नसक्ने बताएका छन् ।
पौडेलले सरकारलाई गलत निर्णय सच्याउन आग्रह गर्दै प्रश्न उठाउने नागरिकलाई तर्साउनेभन्दा पनि विवादित निर्णयबारे जवाफदेही बन्नुपर्ने बताएका छन् । ‘राति–राति जाग्ने यस्तो अहंकारलाई शासन भनिँदैन, सनक भनिन्छ,’ पौडेलले फेसबुकमा लेखेका छन्, ‘गलत निर्णय भएको छ, सच्याउने साहस देखाउनुस्, प्रश्न उठाउनेहरूलाई तर्साउने होइन ।’ उनले सरकारको विरोध गर्नुभन्दा पनि निर्णय सच्याउन र सार्वजनिक प्रश्नको जवाफ दिन सुझाव दिएको उल्लेख गरेका छन् ।



