Artharajniti ~ बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अर्नब’ को प्रभावका कारण नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुनसक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। हाल भारतको आन्ध्र प्रदेश र यानम आसपासको तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गरिरहेको उक्त चक्रवात कमजोर बन्दै नेपाल नजिकको भारतीय भूभागसम्म आइपुग्ने भएकाले आगामी शनिबारसम्म मौसम प्रतिकूल रहने पूर्वानुमान गरिएको छ। विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार हाल उक्त मौसमी प्रणाली आन्ध्र प्रदेशको समुद्री तटीय क्षेत्र आसपास केन्द्रित रहेको छ। चक्रवात दिउँसोसम्ममा पूर्ण रूपमा जमिनमा प्रवेश गर्ने क्रममा रहेको र त्यसको आंशिक प्रभाव नेपालमा पनि देखिन थालिसकेको उनले जानकारी दिइन्। हाल नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लागेको तथा बिहानीपख लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासमेत भइसकेको छ। चक्रवातको आगामी गतिबारे स्पष्ट पार्दै मौसमविद् महर्जनले प्रणाली जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर बन्दै भारतको आन्तरिक भूभाग हुँदै अघि बढ्ने बताइन्। उनका अनुसार आगामी कात्तिक १३ गतेसम्ममा यो प्रणाली नेपाल नजिक पर्ने भारतको उत्तर प्रदेश र बिहारको आसपास आइपुग्नेछ। कमजोर अवस्थामा आइपुगे पनि यसको असरले नेपालभर मौसममा व्यापक फेरबदल ल्याउने देखिएको छ। उक्त चक्रवातका कारण आज देशभर मौसम बदली रहने र कोशी, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। भोलिदेखि शनिबारसम्म भने वर्षाको मात्रा र दायरा निकै फराकिलो बन्ने महाशाखाले जनाएको छ। विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका अधिकांश स्थान (७० देखि १०० प्रतिशत क्षेत्र) मा मध्यम वर्षा हुनेछ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका करिब ७० प्रतिशत स्थानमा मध्यम वर्षाको आकलन गरिएको छ। यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने देखिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भारी वर्षाको सम्भावना छ। साथै कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको समेत दोहोरो प्रभाव रहने भएकाले मेघगर्जन र चट्याङसहित असिनापानी पर्न सक्ने जोखिम महाशाखाले औँल्याएको छ।
नेपालतर्फ सोझिँदै चक्रवात ‘अर्नब’



