चार्टर उडान सेटिङमा भइरहेको मन्त्री उमाशंकर अरगरियाको खुलासाको

Machchapuchchre

अर्थ राजनीति  ~  वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई चार्टर उडानबाट विदेश जाँदा ठग्नमा ट्राभल एजेन्सीका साथै पर्यटन मन्त्रालयकै कर्मचारीहरुको समेत मिलेमतो रहेको पाइएको विभागीय मन्त्री उमाशंकर अरगरियाले बताएका छन्। रोजगारीका लागि खासगरी साउदी जाने नेपाली श्रमिकहरुबाट होटल क्वारेन्टिन समेतको प्याकेज जोड्दै चार्टर उडान भाडाका नाममा ट्राभल एजेन्सीले दुई लाख रुपैयाँसम्म लिइरहेका छन्। नियमित उडान हुँदा काठमाडौं-दम्माम-काठमाडौंको दुईतर्फी उडान भाडा ४५ हजार रुपैयाँको हाराहारीमा आउँछ। तर अहिले एकतर्फी भाडा नै १४ दिनको होटल क्वारेन्टिनसहितको प्याकेज जोडेर दुई लाख रुपैयाँ हाराहारी असुल गरिरहेका हुन्। साउदीमा रहेका नेपालीहरुका अनुसार, त्यहाँ यतिबेला तीनतारे स्तरको होटलमै १४ दिनको क्वारेन्टिन प्याकेज ६० देखि ७० हजार रुपैयाँ हाराहारीमा सजिलै पाइन्छ। यसरी निजी क्षेत्रको वायुसेवा कम्पनीमार्फत चार्टर उडानबाट श्रमिकबाट अचाक्ली चर्को शुल्क असुलेर श्रमिक दोहनको काम मन्त्रालयकै केही कर्मचारी, ट्राभल एजेन्सी र वायुसेवा कम्पनीको मिलिभगतमा भइरहेको पर्यटन मन्त्री अरगरियाले बताए। अहिले निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले साउदी अरेबियाका लागि चार्टर उडान गरिरहेको छ। आफू आउनु अगाडिका दुई मन्त्रीको कार्यकालदेखि नै कर्मचारीको बदमासी रहँदै आएको जिकिर गर्दै उनले भने, ‘पैसै खानका लागि केही  कर्मचारीले बदमासी गरेका छन्। केही ट्राभल एजेन्सीसँग मिलेर चार्टर गरेको देखिएको छ।’

मन्त्री अरगरियाको भनाइमा उनले यसरी वायुसेवा कम्पनी र ट्राभल एजेन्सीमार्फत श्रमिक शोषण हुने काममा सघाउ पुर्‍याइरहेका कर्मचारीलाई कारबाही अघि बढाएको समेत जिकिर गरे । उनी भन्छन्, ‘मैले मन्त्री नियुक्त भएलगत्तै चार्टर उडान बन्द  गराउन मौखिक निर्देशन दिएको थिएँ। तर केही कर्मचारीले चार्टरलाई नै प्राथमिकता दिएकाले तिनलाई कारबाही अघि बढाइसकिएको छ।’चार्टर उडान सेटिङमा भइरहेको समेत उनको खुलासा छ। सम्बन्धित गन्तव्य मुलुकको सिफारिस बिना चार्टर उडान गर्न मिल्दैन। यसैले मन्त्रालयका कर्मचारीहरुले दूतावासलाई वायुसेवाको नामै तोकेर सिफारिस दिनका लागि भन्दै चार्टर अनुमति दिलाउँदै आएको बुझिएको छ।यसलाई स्विकार्दै मन्त्री अरगरियाले भने, ‘यस्तो मिलेमतोलाई पर्दाफास गरेर कारबाही गर्न सुरु गरिसकेको छु । मौखिक आदेशले चार्टर गर्न रोकिसकेको थिएँ। आफ्नै सक्रियतामा सम्बन्धित कर्मचारी, ट्राभल एजेन्सी लगायतलाई कारबाहीको प्रक्रिया अगाडि बढाइसकेको उनले बताए। वैदेशिक रोजगारीमा जाने श्रमिकलाई चर्को भाडा असुल्ने नेक्ससमा दोषी पाइएका कर्मचारी र ट्राभल एजेन्सीको नाम भने अरगरियाले खुलाउन चाहेनन्। यद्यपि, चार्टर उडानमा हुँदै आएको अनियमितताबारे केही दिनमै सार्वजनिक गर्ने उनले बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्