तरलता प्रणालीबाट गायब हुन थाल्यो, अभाव हुने देखिन्छ

Machchapuchchre

अर्थ राजनीति  ~  एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी आगामी वर्ष तरलता अभाव हुन्छ भन्नेमा ढुक्क छन्। त्यसैले उनले आगामी वर्षको व्यापारका लागि अहिलेबाटै स्रोत खोज्न सुरु गरिसकेका छन्। एनएमबि बैंकले  असार १ गतेबाट लागू हुने गरी बचत र मुद्दती दुवैको ब्याज दर बढाएको छ। बचतमा २ देखि ४ प्रतिशतसम्म ब्याज दिँदै आएको ब्याज ३.६ देखि ५.६ प्रतिशत पुर्‍याएको छ। संस्थागत मुद्दतीको ६.२५ देखि ७ प्रतिशतसम्मको ब्याजलाई ६.५ देखि ७.८ प्रतिशत पुर्‍याएको छ। सर्वसाधारणलाई दिँदै आएको ५ देखि ७ प्रतिशतको ब्याजलाई बढाएर ६.५ देखि ७.८ प्रतिशत पुर्‍याएको छ। पोहोर यतिबेला बैंकिङ प्रणालीमा २०० अर्बभन्दा अधिक तरलता थियो। यसपाली अवस्था फरक छ। प्रणालीमा ६ अर्बभन्दा बढी तरलता छैन। आगामी दिनमा तरलता आइहाल्ला भन्ने बलियो आधार पनि छैन।’सरकारी खर्च बढ्यो भने अलिकति तरलतामा सुधार आउला। नभए समग्र स्थिति हेर्दा आगामी वर्ष तरलता अभाव-अभावै हुने देखिएको छ,’ उनले भने, ‘राष्ट्र बैंकसँग पनि अब तरलता प्रवाह गर्ने विकल्पहरु खुम्चिँदै गएको छ। त्यसैले अलिकति बचत बढाउँ भनेर ब्याज वृद्धि गरेका हौं।’यसपाली अधिकांश बैंकले बचत र मु्द्दतीको ब्याज दर बढाएका छन्। उनीहरुले ब्याज वृद्धि गर्नुका पछाडि आ-आफ्नो रणनीतिलाई महत्वका साथ प्रस्तुत गरेका छन् तर, भित्री उद्देश्य आगामी वर्षको अभाव नै हो भन्ने कुरालाई भने लुकाउन सकेका छैनन्।

‘कुल निक्षेपमा मुद्दतीको अंश अलिकति धेरै नै भएकाले बचतको अंश बढाउनका लागि पनि ब्याज वृद्धि गरिएको हो,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, ‘तरलता पनि त सहज छैन नि।’उनका अनुसार, राजनीतिक दाउपेच चलिरहेका बेला सरकारले अपेक्षा अनुसार खर्च गर्न सकिरहेको छैन। र, आगामी दिनमा पनि खर्च गर्न सक्ने अवस्था छैन। त्यसैले तरलता अभाव हुने देखिन्छ। ‘यो आर्थिक वर्ष त बितिहाल्यो। अब चुनौती अर्को वर्षलाई हो,’ उनले कुरा खोले, ‘आउँदो वर्षलाई आधार बनाउनका लागि पनि ब्याज दर वृद्धि गर्नु परेको हो। ‘आधार दर पनि निकै तल आएको जानकारी दिँदै उनले यो आधार दरमा अलिकति ब्याज वृद्धि गरेर लागत बढाउँदा समस्या हुन्न भनेरै बचत र मुद्दतीको ब्याज वृद्धि गरिएको प्रष्ट्याए। नबिल बैंकले बचतमा १.५१ देखि ३.५१ प्रतिशतसम्म दिँदै आएको ब्याज न्यूनतम ब्याज २.५१ प्रतिशत पुर्‍याएको छ भने अधिकतम ४.५१ प्रतिशत पुर्‍याएको छ। बैंकले ६ महिनादेखिको मुद्दती खाताको ब्याज ६.५१ प्रतिशतबाट बढाएर ७.०१ प्रतिशत पुर्‍याएको छ।अधिकांश बैंकरको बुझाइमा आगामी वर्ष तरलता अभाव गहिरिएर जाने छ। राष्ट्र बैंकले गत फागुनमै आगामी दिन तरलताका लागि चुनौतीपूर्ण रहेको प्रक्षेपण गरिसकेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्