भ्याक्सिनले विदेशमा संक्रमण घटायो, नेपालमा खोपै छैन

Machchapuchchre

अर्थ राजनीति  ~  विश्वमा कोरोनाभाइरसको औषधि बनिसकेको छैन  तर, रोकथामका लागि पर्याप्त डोज खोप लगाएमा संक्रमणको जोखिम कम हुने अमेरिका, बेलायत र इजरायलजस्ता देशहरुले गरेको भ्याक्सिनको प्रयोगबाट सावित भएको छ । जति धेरै नागरिकलाई खोप लगाइएको छ, त्यो देशमा संक्रमण दर त्यति नै ओरालो लागेको छ तर, विडम्बना ! नेपाल सरकारले चाहिँ खोपै आयात गर्न नसक्दा केही दिनको अन्तरमा यहाँको संक्रमण दर १३२ प्रतिशतले बृद्धि भएकाे छ । खोपबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको सम्वोधनमा भने, ‘मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैं आवश्यक मात्रामा खोप खरिद प्रक्रिया शुरु गरिसकेको छ । चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ ।’कोरोना संक्रमणको अवस्था हेर्दा जुन देशमा कोरोनाविरुद्धको भ्याक्सिन लगाइएको छ, उक्त देशमा कोरोना संक्रमणको दर एकदमै कम छ। अल्पविकसित र अविकसित देश वा कोरोनाविरुद्धको भ्याक्सिन नलगाएका देशमा कोरोना संक्रमणको गति तीब्र बनेको पाइन्छ ।कोरोनाविरुद्धको भ्याक्सिन धेरै लगाउने देश अमेरिकामा अहिले कोरोना संक्रमणको दर अत्यन्तै न्यून छ । अमेरिकामा हालसम्म २४ करोड ३० लाख डोज खोप लगाइसकिएको छ । अमेरिकामा अहिले दैनिक औसतमा २५ लाख ५० हजार डोज खोप लगाइएको छ । अमेरिकामा कुल जनसङ्ख्याको ४४ प्रतिशतले पहिलो डोज र ३१.२ प्रतिशतले दोस्रो डोज खोप लगाइसकेका छन् । इजरायलमा कुल १ करोड ४ लाख ९७ हजार ३५५ डोज खोप लगाइएको छ । इजरायलमा कुल जनसङ्ख्याको ५९.७ प्रतिशतले पहिलो डोज र ५६.३ प्रतिशतले दोस्रो डोज खोप लगाइसकेका छन् । त्यसैगरी बेलायतमा कुल जनसङ्ख्याको ५१.४ प्रतिशतले पहिलो डोज र २२.४ प्रतिशत जनसङ्ख्याले दोस्रो डोज खोप पाइसकेका छन् । यी देशहरुमा कोरोना  संक्रमणको दर हेर्ने हो भने जनसङ्ख्याको आधारमा अत्यन्तै न्यून छ । जबकि अमेरिकामा ८ जनवरी २०२१ मा ३ लाख १२ हजार ४९ नयाँ संक्रमण देखिएको थियो । जब अमेरिकाले भ्याक्सिनलाई प्राथमिकता दियो, त्यसपछि त्यहाँको संक्रमण दर बिस्तारै घट्दै गएको छ ।

नेपालको अवस्था भने ठीक उल्टो दिशामा अगाडि बढिरहेको छ । २ करोड ९५ लाख जनसङ्ख्या रहेको नेपालमा एकै दिनमा ७ हजारभन्दा बढी संक्रमण देखिन थालेका छन् । नेपालमा कोरोना संक्रमणको दर हेर्ने हो भने एक सातामा १३२ प्रतिशतले वृद्धि भएको छ । यो रफ्तार अझै बढ्दो क्रममा छ । बितेको एक सातामा नेपालमा कोरोना संक्रमणबाट १६१ जनाले ज्यान गुमाएका छन् । अघिल्लो साता कोरोना संक्रमणबाट ८१ जनाले ज्यान गुमाएका थिए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्