महामारीमा एनआईसी एसिया बैंकले अन्याय गर्यो

Machchapuchchre

अर्थ राजनीति  ~  एनआईसी एसिया बैंकले कोरोना महामारीका बेलामा पनि ऋणीबाट निकै चर्को ब्याज असुल गरेको पाइएको छ । लघुवित्तले अत्यधिक ब्याजदर लिने गरेको भन्दै आलोचना हुँदै गरेको छ तर, एनआईसी एसिया बैंकले कोरोना महामारीकै बेला पनि लघुवित्त भन्दा पनि चर्को ब्याज असुल गर्ने पाइएको हो । बैंकले घर कर्जामा करिब १६ प्रतिशत ब्याजदर लिने गरेको पाइएको छ । सवारी साधनका लागि लगानी भएको कर्जामा पनि बैंकले करिब १५ प्रतिशत ब्याजदर लिने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनको समेत धज्जी उडाउँदै बैंकले आफ्नो पुराना ऋणीलाई २०७८ सालदेखि ब्याजदर बढेको भन्दै पत्र काटेको छ । ‘मैले एनआईसी एसिया बैंकको विराटनगर शाखाबाट घर कर्जा लिएको थिएँ, ब्याजदर बढेको भनेर चिठ्ठी आएछ’ बैंकका एक ग्राहकले भने, ‘खोलेर हेर्दा १५.७० प्रतिशत पुगेको देखेर म त अचम्ममा परे।’ कोरोना कतिपय बैंकहरुले आधार दर वा आधार दरमा थोरै प्रतिशतमात्रै प्रिमियम जोडेर ऋण लगानी गर्ने गरेका छन् । त्यस्तो प्रमियम दर समान्यतया बैंकहरूले २ प्रतिशत लिने गरेका छन् । एनआईसी एसिया बैंकको चैत मसान्तसम्म आधार दर ६.७७ प्रतिशत रहेको छ । आधारदरमा ९ प्रतिशत भन्दा धेरै प्रिमियम जोडेर बैंकले ब्याजदर बढेको भन्दै पत्राचार गरेको छ । बैंकको ब्याजदर बढ्ने मूख्य कारक नै आधार दर हो । एनआईसी एसिया बैंकको अघिल्लो वर्षको चैत मसान्तमा आधार दर ९.६१ थियो । अर्थात् पहिलेभन्दा अहिले आधार दर घटेको छ । आधार दर घट्दा ब्याजदर पनि घट्नुपर्नेमा अझ अस्वभाविक रुपले बढाएर ऋणीसँग ब्याज असुल उपर गर्ने गरेको हो । अहिले लघुवित्तहरुले नै १४ देखि १५ प्रतिशतसम्म ब्याजदरमा ऋण लगानी गर्ने गरेका छन् । महामारीको मौका छोपी ‘क’ वर्गको एनआईसी एसिया बैंकले भने यतिधेरै ब्याजदर असुलेर आफूलाई तनाब दिएको ती ऋणी बताउँछन् ।

विराटनगर शाखाबाटै घर कर्जा लिएका दिनेश सुवेदीले भने आफूलाई बैंकले अन्याय गरेको बताए । उनलाई पनि बैंकले घर कर्जामा करिब १६ प्रतिशतसम्म ब्याजदर पुगेको भन्दै चिठी थमाएको छ । यो कुरो बाहिर आएपछि बैंकले ब्याजदर घटाउने आश्वासन समेत दिएको उनले बताए  तर, अहिलेसम्म कार्यान्वयन भने नभएको उनको गुनासो छ ।‘म मात्रै होइन म जस्ता पीडित धेरै हुनुहुन्छ, मैले बोले पछि अरु धेरै जनाले बोल्छु भन्नु भएको छ’ सुवेदी भन्छन् । बैंकले अति नै अन्याय गरेको भन्दै उनले न्यायका लागि नेपाल राष्ट्र बैंकदेखि प्रधानमन्त्री कार्यालयसम्म जाने योजना बनाएको सुनाए । यस्तो महामारीका बेला पनि अत्यधिक चर्को ब्याजदर लिएर तनाव दिएको भन्दै उनले कारवाहीका लागि सरकारलाई गुहार्ने बताए । ‘हामी केही दिनमै राष्ट्र बैंकसँग मात्रै होइन, कारबाहीका लागि प्रधानमन्त्री कार्यालयसम्मै पुग्छौं, यो हाम्रो विवसता हो’ उनले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्