मुख्यमन्त्री पोखरेलको नियुक्तिविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्छौं : चार दल

Machchapuchchre

अर्थ राजनीति  ~  लुम्बिनी प्रदेशमा अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको भन्दै विपक्षी दलहरुले कानूनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्रीमा शंकर पोखरलको नियुक्ति असंवैधानिक, अलोकतान्त्रिक र तानाशाहीको पराकाष्ठा भएको बताएका छन् । विपक्षी गठबन्धनले अल्पमतको मुख्यमन्त्रीलाई स्वीकार नगर्ने बताउंदै केन्द्रको निर्देशन अनुसार थप राजनीतिक कदम चाल्ने बताएका छन् । ४२ सांसदको हस्ताक्षरसहित सरकारमा दावी पेश गर्दागर्दै ३७ जना सांसदको मात्रै समर्थन भएका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुले लोकतन्त्रको हत्या र उपहास भएको विपक्षी गठन्धनले बताएको छ । ‘केन्द्रमा ओलीको तानाशाही, अधिनायकवादी नमूना लुम्बिनी प्रदेशमा शंकर पोखरेलले देखाउनुभयो, यसविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्छौं, ’ नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले भने, ‘हिजोको घटना अराजनीतिक र निकृष्ट घटना हो, संविधान मिचेर गरिएको नियुक्तिले अराजकता बढायो,यो सामान्य विषय होइन ।’ नेता कनौडियाले पोखरेल नेतृत्वको सरकारलाई धेरै दिन टिक्न नदिने चेतावनी समेत दिए । ‘संसदबाट कति दिन भाग्नुहुन्छ ? नीति, कार्यक्रम र बजेट ल्याउनु छैन र हामी पराजित गर्छौं ।’ मुख्यमन्त्रीले राजीनामा दिएर ग्राण्ड डिजाइन र षडयन्त्र अनुसार संसद छल्ने नाटक गरेको कनौडियाले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्