कालोसूचीमा ऋणीको सङ्ख्या दैनिक बढ्दै

Machchapuchchre

अर्थ राजनीति  ~  विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंकबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्दा धेरै व्यक्ति र संस्थाहरू बैंक तथा वित्तीय संस्थाको कालो सूचीमा पर्ने गरेका छन् । कर्जा सूचना केन्द्रले प्रकाशित गरेको सूचीमा कालो सूचीमा पर्नेहरूको सङ्ख्या दैनिक बढिरहेको देखिन्छ । कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षदेखि हालसम्म ४ हजार ७४६ जना व्यक्ति र संस्थाहरू बैंकको कालोसूचीमा परेका छन् । ऋण लिई भाका नाघेका कारण यी व्यक्ति कालो सूचीमा परेका हुन् । ग्राहकले ऋण लिएको ६ महिना वा सो भन्दा कम अवधि छ भने कोरोना भाइरसको महामारीका बेला ऋणीलाई कालो सूचीमा नराख्न नेपाल राष्ट्र बैंकले सहज वातावरण मिलाइएको थियो । २०७६ पुस मसान्त सम्मका असल ऋणी छन् भने कालो सूचिमा नराख्नु भनेको हो तर, त्यस अगाडि अर्थात् ६ महिनादेखि एक वर्ष भाका नाघेकोलाई कोरोनाको अवधिमा पनि कालो सूचीमा राखेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले बताए । उनले भने, ‘तोकिएको मापदण्डको पालना नगरेकोले ग्राहक ऋणीहरूलाई कालो सूचि राखेको हो । गतका वर्ष खराब कर्जा १.६ प्रतिशतको हाराहारीमा थियो, अहिले चालु आर्थिक वर्षमा गतको खराब कर्जामा ०.०२ प्रतिशतले बढेको छ । कोरोनाका कारण यो केही बढ्न गएको हो ।’

राष्ट्र बैंकका अनुसार १० देखि २५ लाखसम्मका अधिकांश ऋण साना तथा मझौला कर्जा, व्यापार कर्जा र हायरपर्चेज आदिका लागि हुने गर्दछ । केन्द्रले बैंकलाई पठाएको सिफारिसको आधारमा कालोसूचीमा राख्ने व्यक्ति वा संस्थाको नामावली तयार पारिन्छ । कालोसूचीमा समावेश भएका व्यक्ति तथा संस्थालाई सो सूचीबाट नहटेसम्म कुनै पनि बैंकबाट ऋण लिन नसक्ने व्यवस्था गरिएको छ । ऋण नतिर्ने व्यक्तिको नाम वित्तीय संस्थाले कर्जा सूचना केन्द्रमा पठाउने गर्दछन् । त्यसपछि केन्द्रले त्यसलाई कालोसूचीमा समावेश गरेर सबै संस्थालाई जानकारी दिने गर्दछ । सूची ऋण लिने व्यक्तिको जोखिम मापन गर्न प्रयोग हुने गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्