“नवप्रवर्तनका लागि एक प्रतिशत बजेट छुट्याउने तयारी छ ” : प्रधानमन्त्री दाहाल

Machchapuchchre

Artharajniti ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तनका लागि कोष स्थापना गर्ने बताएका छन्। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा बिहीबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै उनले कोषका निम्ति आवश्यक कानून तर्जुमा गर्ने गृहकार्य अघि बढिसकेको बताए। कोषबाट हुने कामले यस क्षेत्रमा गुणात्मक फड्को मार्ने उनको भनाइ छ। नेपालको इतिहासमा पहिलो पटक नवप्रवर्तनका निम्ति भनेर पुँजीगत बजेटको १ प्रतिशत छुट्याउन लागेको उनले बताए।  युवाहरुलाई देशभित्र आशा जगाउन र अर्थतन्त्रमा गुणात्मक सुधार गर्न पनि कोषले भूमिका खेल्ने प्रधानमन्त्री दाहालको भनाइ छ। सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रुपान्तरण गर्न सकिन्छ भन्ने सरकारको दृढ विश्वास रहेको उनले बताए। दिनानुदिन बढ्दै गइरहेको साइबर अपराधसम्बन्धी घटना, संवेदनशील प्रणालीमाथिको अनाधिकृत पहुँच, व्यक्तिगत एवं संस्थागत डाटा दुरुपयोगको विषयलाई नियमन तथा व्यवस्थापन गर्न तथा साइबर सुरक्षाको बढ्दो चुनौतिलाई मध्यनजर गर्दै नीति, कानून र संरचना निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री दाहालले बताए। राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० तर्जुमा गरी कार्यान्वयनको अवस्थामा रहेको उनको भनाइ छ। प्रधानमन्त्री दाहालले आगामी बजेटमा देशभित्रै केही गर्ने युवाहरुका निम्ति सुवर्ण अवसर सिर्जना हुने बताए। स्टार्टअप कार्यक्रमलाई एकीकृत गरी प्रभावकारी कार्यान्वयन गर्न सरकार गम्भीर रहेको उनको भनाइ छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्