बैंकिङ क्षेत्रमा तरलता अभाव हुन सक्ने डर बढ्दै

Machchapuchchre

अर्थ राजनीति   ~  कोरोनाका बेला लगानी हुन नसकेको रकम यतिबेला धमाधम लगानी हुन थालेसँगै तरलता अभाव हुन्छ कि भन्ने आशंका गर्न थालिएको छ । दुई महिना अघिसम्म दुई खर्ब हाराहारीमा रहेको तरलता अहिले घटेर ५० अर्बमा झरेको छ । एक महिना वित्तीय बजारमा ६५ अर्ब रुपैयाँ हाराहारी तरलता थियो । पछिल्लो एक महिनामा १५ अर्ब रुपैयाँ तरलता घटेको बुधबारसम्मको तथ्यांकले देखाउँछ । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार होली पर्वको बिदा खुलेपछि पुनः लगानी हुने क्रम बढेर बुधबारसम्म तरलता ५० अर्ब रुपैयाँमा झरेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी बढाएको उनले बताए । कोरोना महामारीका कारण लामो समय व्यापार–व्यवसाय ठप्प हुँदा बैंक तथा वित्तीय संस्थाहरूमा पैसा थुप्रिएको थियो । कर्जा लगानी नभएर बैंकमा पैसा थुप्रिंदा अर्थतन्त्र चलायमान हुन सकेको थिएन । बैंकहरूले कर्जा लगानी गर्न नसकेपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षको सात महिनामा रिभर्स रिपोमार्फत ८९ अर्ब ५४ करोड रुपैयाँ र निक्षेप संकलन उपकरणमार्फत १ खर्ब ९३ अर्ब ७५ करोड गरी कुल २ खर्ब ८३ अर्ब २९ करोड तरलता प्रशोचन गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत २८ अर्ब र निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ गरी कुल ५८ अर्ब रुपैयाँ तरलता प्रशोचन भएको थियो । गत वर्ष बैंकहरूमा अधिक तरलता हुनै नसकेर राष्ट्र बैंकले रिपोमार्फत ९० अर्ब ७३ करोड र स्थायी तरलता सुविधा मार्फत ६९ अर्ब ५५ करोड रुपैयाँ गरी कुल १ खर्ब ६० अर्ब २८ करोड रुपैयाँ तरलता प्रवाह गरेको थियो । तरलता अभाव हुन्छ नै भनेर अहिले नै भनिहाल्न सक्ने अवस्था नरहेको प्रवक्ता ढकाल बताउँछन् । अहिले तरलता घटेकै आधारमा अभाव नै हुन्छ भन्न नसकिने उनको भनाइ छ । ‘अब सरकारी खर्च राम्रै होला’ उनले भने, ‘यसकारण पनि अहिले नै तरलता अभाव हुने अनुमान गर्न सकिंदैन ।’ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल पनि तरलता अभाव भइहाल्ने अवस्था नदेखिने बताउँछन् । कर्जाको माग बढेर बैंकहरूले राम्रै कर्जा लगानी गरिरहे पनि त्यस्तो खतरा नरहेको उनी बताउँछन् । ‘चैत मसान्तसम्म त अभाव हुने सम्भावना छैन नै, त्यसपछि हुने सरकारी खर्चको अवस्थामा भरपर्छ’ अध्यक्ष दाहालले भने, ‘सरकारी खर्च राम्रै भयो भने समस्या हुँदैन ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्