क्युआरकोड भुक्तानीमा गभर्नर अधिकारीको अग्रर्सरता

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ‘क्युआर कोड’ भुक्तानी बिस्तारमा निकै अग्रसर देखिएका छन् ।  शुक्रबारको दिन उनले बैंकहरुले बिस्तार गरिरहेको क्युआर भुक्तानीको उद्घाटनका लागि नै छुट्याएका छन् । क्यासलेस गर्न नसकिए पनि लेस क्यास गर्न सकिन्छ भनेर लागिरहेको गभर्नरले बताएका छन् । भिसा र मास्टरकार्डको प्रयोग गर्दा निश्चित पैसा विदेश पठाउनु पर्छ  तर  क्युआर भुक्तानी गर्दा विदेशमा कुनै पनि पैसा जाँदैन । यही कारणले  पनि गभर्नर अधिकारी उत्साहित देखिएका हुन् भन्दा फरक पर्दैन । गभर्नर अधिकारी कहिले मन्दिरको भेटी क्युआर कोडबाट भुक्तानी गरिरहेको भेटिन्छन् भने कहिले टेम्पो भाडा पनि त्यसैगरी तिरिरहेको देखिन्छन्, यसको मूल कारण यही हो । उनले  आईतबार चालु वर्षको मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षा गर्दै क्युआर कोड लगायतका विद्युतीय कारोबार प्रवर्द्धनका लागि आवश्यक थप नीतिगत व्यवस्था गर्ने घोषणा गरेका छन् । यसबाहेक विद्युतीय कारोबार प्रवर्द्धनका लागि वित्तीय साक्षरतामा गरिने निश्चित खर्चहरुलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गणना गर्न सकिने व्यवस्था मिलाएका छन् । नेपाल राष्ट्र बैंकको अग्रसरतामा वाणिज्य बैंकहरुले राजधानीका ठूला तरकारी तथा फलफूल बजारबाट क्यूआर कोड भुक्तानी संचालनमा ल्याए । त्यसयता छोटो समयमै यसको प्रयोगतर्फ आकर्षण बढेको यो सेवा राख्ने व्यापारी र सेवा प्रदायक बैंकरहरुको भनाइ छ । तरकारी बजारहरुमा नगद कारोबारलाई न्यून गर्दै विद्युतीय भुक्तानी विस्तारमा फोनपे र सानिमा बैंकको सहकार्यमा क्यूआर कोड भुक्तानी सुरु भएको थियो । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले बैंकहरुले सेवा सुरु गरेका स्थानहरुमा क्यूआर कोडबाट हुने भुक्तानी बढ्ने क्रममा रहेको बताएका छन् । एकैपटकमा यसको प्रयोग नबढ्ने भएकाले उपभोक्ताहरुको बानी विस्तारै नगदरहित कारोबारमा बढ्दै जाने उनले विश्वास गरेका  छन् ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्