Artharajniti ~ काठमाडौं। माछापुच्छ्रे बैंकले ग्राहक सेवा, डिजिटल नवप्रवर्तन र जोखिम व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै दुई अन्तर्राष्ट्रिय अवार्ड पाएको छ। बैंकले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टोमर इन्गेजमेन्ट’ विधामा प्लाटिनम अवार्ड प्राप्त गरेको हो। बैंकले ग्राहकको खाता खोल्ने प्रक्रिया लगायत बैंकिङ सेवासँग जोडिने प्रक्रिया सहज बनाउन ‘रिइन्भेन्टिङ कस्टोमर अनबोर्डिङ’ योजना सञ्चालन गरेको थियो। जसका लागि बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो। इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्सले बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन र ग्राहक केन्द्रित सेवामा गरेका उत्कृष्ट कामलाई सम्मान गर्दै आएको छ। सन् २०२६ को संस्करणमा विश्वभरबाट ५०० भन्दा बढी आवेदनमध्ये विभिन्न विधामा पुरस्कार छनोट गरिएको बैंकले जनाएको छ। बैंकले डिजिटल रूपान्तरण र ग्राहक सम्बन्ध सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ। ग्राहकलाई सरल, सहज, छिटो र सुरक्षित बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै आएको बैंकको भनाइ छ। माछापुच्छ्रे बैंकले ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेमेन्ट’ अवार्ड पनि प्राप्त गरेको छ। इन्डियन चेम्बर अफ कमर्सले नयाँ दिल्लीमा आयोजना गरेको चौथो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्ड्स २०२६ मा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो। उक्त अवार्ड बैंकले कर्जा, सञ्चालन, बजार र तरलता जोखिम व्यवस्थापनमा गरेको प्रयासका लागि पाएको हो। सम्मानले सुरक्षित, जिम्मेवार र सावधानीपूर्ण बैंकिङ अभ्यासलाई प्राथमिकता दिएको देखाएको बैंकको भनाइ छ। यी दुई अन्तर्राष्ट्रिय अवार्डसँगै बैंकले पछिल्ला वर्षमा विभिन्न प्रतिष्ठित सम्मान प्राप्त गरेको जनाएको छ।
माछापुच्छ्रे बैंकले डिजिटल सेवा र जोखिम व्यवस्थापनमा उत्कृष्टताका लागि पायो अवार्ड



