डेपुटी गभर्नरमा नियुक्त रावलले सन् २०१९ देखि २०२४ सम्म सम्पत्ति शुद्धीकरण र आतंकवादको वित्तीय व्यवस्थापन हेर्ने फाइनान्सियल इन्टेलिजेन्स युनिटको नेतृत्व गरेका छन्। उनले राष्ट्रिय समन्वय समितिको सदस्य सचिवका रूपमा पनि काम गरेका छन्। केन्द्रीय बैंकको करिअरको सुरुवातमा रावलले आर्थिक अनुसन्धान विभाग र बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेर काम गरेका थिए। उनले नीति तथा योजना इकाइको इन्चार्ज र नियमन समितिको सदस्य सचिवको रूपमा पनि काम गरेका छन्। राष्ट्र बैंकमा सेवा प्रवेश गर्नुअघि रावलले नेपाल बैंक लिमिटेडमा सहायक प्रबन्धकका रुपमा काम गरेका थिए। राष्ट्र बैंकभित्रको सवै पदोन्नतीमा रावल आन्तरिक प्रतिस्पर्धात्मक परीक्षाबाट भएका थिए। सन् २०१८ मा लोकसेवा आयोगद्वारा लिइएको निर्देशक पदतर्फको प्रतिस्पर्धामा रावलले प्रथम स्थान हासिल गरेका थिए। रावल काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टमा पीएचडी स्कलर हुन्। उनले अर्थशास्त्रमा स्नातकोत्तर, व्यवस्थापनमा एमबीए र समाजशास्त्रमा समेत स्नातकोत्तर हासिल गरेका छन्।
राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नरमा रावल नियुक्त



