देउवा बिहीबार मध्याह्न स्वदेश फर्किँदै

Machchapuchchre Bank

Artharajniti  ~  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार मध्याह्न स्वदेश फर्किँदै छन् । जेन–जी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका पूर्वप्रधानमन्त्री देउवा १३ फागुनमा सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए । देउवा अहिले हङकङबाट थाइल्यान्डको बैंकक पुगेका छन् । उनी बैंककबाट थाइ एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । उनको स्वागतको लागि राष्ट्रिय भेला आयोजक समितिका सबै नेताहरू विमानस्थल पुग्ने भेला आयोजकको प्रचारप्रसार उपसमिति संयोजक मीन विश्वकर्माले जानकारी दिए । ‘उहाँ (देउवा)लाई स्वागत गर्न राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेताहरू विमानस्थलमा पुग्नुहुन्छ,’ विश्वकर्माले भने, ‘निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहितका पूर्वपदाधिकारी, केन्द्रीय सदस्यहरूसहितको ठूलो समूह उहाँको स्वागतका लागि विमानस्थलमा पुग्छौँ ।’ पार्टीका शीर्ष नेताहरू देउवाको स्वागत गर्न अतिथि कक्षमा नै पुग्नेछन् । त्यसपछि देउवासँग मिडिया साक्षात्कार हुनेछ । उनको स्वागतको लागि ५ हजारभन्दा माथिको संख्यामा नेता कार्यकर्ता विमानस्थल पुग्नेछन् । उनको स्वागतको लागि नेपाल तरुण दल तथा नेविसंघका कार्यकर्ताहरूसँग समन्वय गर्ने जिम्मेवारी तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेत र युवा नेता कुन्दन काफ्लेलाई दिइएको छ । देउवालाई विमानस्थलमा स्वागत गर्ने नेता कार्यकर्ताले चुनदेवीस्थित निवाससम्मै स्कर्टिङ गर्ने छन् । विशेषगरी काठमाडौं, ललितपुर र भक्तपुरका नेता कार्यकर्तालाई स्वागतका लागि झण्डा र देउवाको फोटोसहित विमानस्थलमा उपस्थित हुन भनिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्