सभापति थापा : “पाँचपटक प्रधानमन्त्री बनेको मान्छे पनि छैटौँपटक बन्न नपाएर दिग्दार छ “

Machchapuchchre Bank

Arthrajniti  ~  काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गरेका छन्। आइतबार धर्म गौतमद्वारा लिखित ‘बीपी र विद्रोहका ती दिन’ पुस्तक विमोचन कार्यक्रममा थापाले राजनीतिक सफलताको मापन पद र पटकबाट गर्न नहुने बताए। थापाले भने, ‘कति पटक सभापति हुनुभयो, कति पटक सांसद हुनुभयो, कति पटक मेयर हुनुभयो भन्ने मानक बन्नु हुँदैन।’ उनले नेपालका राजनीतिक दललाई असफल मानिस उत्पादन गर्ने कारखानाको संज्ञा दिए। पाँचपटक प्रधानमन्त्री भइसकेका व्यक्ति पनि छैटौँपटक प्रधानमन्त्री बन्न नपाएकोमा दिग्दार देखिएको उनको टिप्पणी थियो। उनले आफ्नो राजनीतिक यात्राबारे पनि प्रश्न उठ्ने गरेको बताए। आफूले के पाएँ भन्ने प्रश्न धेरैले गर्ने गरेको उनको भनाइ थियो। कार्यक्रममा थापाले बीपी कोइराला र गणेशमान सिंहलाई कुनै व्यक्तिको घर वा समूहभित्र सीमित गर्न नहुने पनि बताए। पछिल्ला ३ दिनमा आफूविरुद्ध भएको आलोचनाबारे पनि थापाले टिप्पणी गरे। आफूले जीवनमा कहिल्यै नपाएको जति निन्दा पछिल्ला ३ दिनमा भएको जस्तो लागेको उनले बताए। उनले आलोचनाका शीर्षकसमेत संकलन गरिएको बताए। कसले कति निन्दा गर्‍यो भन्ने हिसाबसमेत राखिएको उनको भनाइ थियो। पार्टीका नेताको घरमा आफू जाने विषयलाई लिएर पनि विभिन्न चर्चा भएको उनले बताए।  सुकेधारामा भएको राष्ट्रिय सम्मेलनसँग जोडिएका विषयमा भने थापाले विस्तृत प्रतिक्रिया दिन चाहेनन्। उनले चुनदेवी भेलाबारे पनि तत्काल नबोल्ने बताए। ‘चुनदेवी भेलाबारे नसोध्नुहोला। भोलि पार्टी कार्यालयमा एक घण्टा बोल्छु,’ उनले भने।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्