संयोजक प्रचण्ड : “प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ “

Machchapuchchre Bank

Artharajniti  ~  नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनाव समाधानका लागि प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार बोलाएको सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले संवेदनशील अवस्थामा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्नुपर्ने बताए । उनको सचिवालयका अनुसार प्रचण्डले बैठक आयोजना गरेकोमा रास्वपा सभापति लामिछानेलाई धन्यवादसमेत दिएका छन्। ‘विगतमा भूकम्प, बाढी-पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, हामीले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थियौँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ, ‘आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक छ।’ उनले राष्ट्रिय महत्त्वका संवेदनशील विषयमा रास्वपा नेतृत्वको सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको भन्दै प्रश्न उठाए। सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील हुनुपर्ने उनको भनाइ थियो। प्रचण्डले संसद्‌मा सरकारको प्रस्तुति पनि अपेक्षाअनुसार प्रभावकारी नदेखिएको बताएका छन्। ‘बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन सक्दैन,’ उनले भने, ‘संवाद, सहमति र राजनीतिक समझदारीमार्फत नै परिस्थितिलाई सहज बनाउन सकिन्छ।’ उनले आफ्नो पार्टीले सुनसरी घटनाबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आन्तरिक निर्देशनसमेत दिएको जानकारी गराए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्