“मिडिया तर्साएर सत्य दबाउने प्रयास लोकतन्त्र विरोधी ” : नेकपा

Machchapuchchre Bank

Artharajniti  ~  विभिन्न सञ्चारगृहका मूल गेटमा शंकास्पद रूपमा गाडी पार्किङ गर्ने कदमको राजनीतिक दलहरूले दृढतापूर्वक आलोचना गरेका छन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी, मुख्य विपक्षी नेपाली कांग्रेस, अर्को विपक्षी दल नेकपा एमाले सहितका दलहरूले घटनाको निन्दा गरिसकेका छन्। प्रतिनिधिसभाको चौथो ठूलो दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि उक्त घटनाको निन्दा गर्दै सञ्चारमाध्यमलाई तर्साउने कार्य बन्द गर्न चेतावनी दिएको छ। प्रेसको आलोचनात्मक आवाज दबाउन र राज्यका कमजोरी लुकाउन सञ्चार माध्यमहरूमाथि दबाब सिर्जना गर्ने जुनसुकै प्रयास संविधान र विधिको शासन विपरीत हुने नेकपाले स्पष्ट पारेको छ। मिडियालाई भयभीत बनाएर सत्यतथ्य रोक्ने प्रवृत्ति लोकतान्त्रिक मूल्यमान्यता विरूद्ध हुने भन्दै पार्टीले यसको कडा प्रतिवाद गरेको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा सोमबार जारी विज्ञप्तिमा देशका प्रमुख सञ्चारगृहहरूको मूल ढोकामै शंकास्पद रूपमा सवारी साधनहरू छाडेर नियमित काममा अवरोध पुर्‍याउने र मिडियाकर्मीहरूलाई मानसिक तनाव दिने काम भइरहेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। ‘संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हुने यस्ता अदृश्य हस्तक्षेपहरूले समग्र लोकतान्त्रिक प्रणालीलाई नै प्रहार गर्छ,’ ज्वालाले विज्ञप्तिमा उल्लेख गरेका छन्। विशेष गरी सहकारी र मिटरब्याज पीडित, सुकुम्बासी, बेरोजगारी, भ्रष्टाचार एवं कुशासनजस्ता जनसरोकारका विषयमा मिडियाले निरन्तर खबरदारी गरिरहेका बेला तिनै संस्थालाई तारो बनाइनु गम्भीर विषय भएको नेकपाको ठहर छ। राज्य सञ्चालन संविधान र कानुनको जगमा हुनुपर्ने भन्दै बहुमतको बलमा नागरिक अधिकार र स्वतन्त्र प्रेसमाथि हस्तक्षेप नगर्न नेकपाले सचेत गराएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्