Artharajniti ~ गभर्नरको उमेरजन्य योग्यता संशोधन कार्यान्वयन नगर्न र उक्त रिटमाथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहित परेको पुरक निवेदनमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । गएको चैत १८ गते अर्थ मन्त्रालयले अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र ‘मनोनयन सम्बन्धी मापदण्ड २०७३’ संशोधन गर्दै पदाधिकारी तथा सदस्य नियुक्तिमा रहेको उमेर हद हटाएको थियो । उक्त संशोधनविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले चैत ३१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले गत वैशाख २ गते तत्काल उक्त संशोधन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अल्पकालीन आदेशका लागि आइतबार दुवै पक्षलई छलफलका लागि बोलाएको थियो । यसैबिच गभर्नरमा कार्यकारी निर्देशक डा.भट्टको चर्चा चुलिएसँगै गत शुक्रबार अधिवक्ताद्वयले पुरक निवेदन दिएका थिए । आइतबार रिट र पुरक निवेदनमाथि पेसी तोकिए पनि हेर्न नभ्याइनेमा गएको थियो ।
राष्ट्र बैंकका गभर्नर नियुक्ति विवाद
