रिकभरीमा सुधार हुँदा अधिकांश बैंकले बढाए नाफा, कुन बैंकको कति ?

Machchapuchchre

ARTHARAJNITI  ~  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरूले मुनाफा बढाएका छन्। आर्थिक गतिविधि बढ्न नसकेर व्यवसाय विस्तार गर्न नसकेका बेला रिकभरीमा सुधार हुँदा बैंकहरू नाफामा देखिएका हुन्। पहिलो त्रैमासिक वित्तीय विवरण सार्जनिक गरेका वाणिज्य बैंकहरूमध्ये १२ वटा बैंकले नाफा बढाउदा ८ बैंकको भने खुम्चिएको छ। यतिबेला माछापुच्छ्रे, सानिमा बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, कृषि विकास, सिटिजन्स, एनआइसी एशिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा खुम्चिएको हो। सिद्धार्थ बैंकको नाफा सबैभन्दा धेरै ७९१.४३ प्रतिशतले वृद्धि भएको छ। धेरै नाफा गर्नेमा भने नबिल बैंक रहेको छ। नबिलले २ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ। आर्थिक गतिविधि सुस्त भएपनि केन्द्रीय बैंकले लिएको खुकुलो नीति र रिकभरीका कारण नाफा बढेको बैंकरहरूले बताएका छन्। नयाँ लगानी सुस्त रहेका बेला बैंकहरू असुलीमा केन्द्रित हुँदा नाफा बढेको उनीहरूको भनाइ छ।साथै, राष्ट्र बैंकले असल ऋणको धितोमा राख्नु पर्ने १.२० प्रतिशत नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) खर्चलाई घटाएर १.१० प्रतिशतमा झारिदिएको छ। यसले नाफा बढाउन सहयोग पुगेको हो।  नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तिलकराज पाण्डे बैंकहरू रिकभरि केन्द्रित हुँदा नाफामा सुधार भएको बताउँछन्। उनका अनुसार पछिल्लो समय बैंकहरू खर्च घटाउने र रिकभरीमा केन्द्रित छन्। ‘पछिल्लो समय घटिरहेको ब्याजदरले केही खर्च कम भएको छ। ब्याज आम्दानी र खर्च दुवै केही घटेको छ,’ उनले भने, ‘तुलनातमक ब्याज आम्दानी र खर्च धेरै घट्दा त्यसको प्रभाव देखिएको हो।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्