Artharajniti ~ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्रिप्टोकरेन्सीको अवैध कारोबार नियन्त्रणको लागि नेपाल राष्ट्र बैंकले नेतृत्व लिनुपर्ने बताएको छ।आयोगका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल राष्ट्र बैंकले हुण्डी, क्रिप्टोकरेन्सी लगायतका अवैध कारोबार नियन्त्रणको लागि नेतृत्व लिनु पर्ने बताएको हो। साथै विप्रेषणको आप्रवाह बैंकिङ प्रणालीमार्फत हुने व्यवस्थाका लागि आवश्यक कार्य गर्ने, राष्ट्रिय परिचयपत्रलाई विभिन्न बैंक तथा वित्तीय संस्थाको प्रणालीसँग आबद्ध गर्ने विषयमा अध्ययन गरी एकीकृत प्रणालीको विकास गर्न सहजीकरण गर्ने गर्ने जिम्मेवारी पनि राष्ट्र बैंकको भएको स्मरण गराएको छ। आयोगले गत मंसिर ६ र ७ गते सरकारका नियामक निकायहरु तथा सार्वजनिक संस्थाहरु बीच अन्तरक्रिया गरेर थियो। उक्त अन्तरक्रियाको आधारमा आयोगले पुस ४ गते विज्ञप्ति जारी गर्दै सार्वजनिक संस्थाहरुलाई निर्देशन दिएको छ। सार्वजनिक संस्थाहरुले अनावश्यक रूपमा सामग्री, सफ्ट्वेयर, कच्चा पदार्थ, उपकरणलगायत खरिद नगर्ने र कुनै यन्त्र उपकरणको खरिद गर्दा सोको नियमित सञ्चालनको सुनिश्चितताको लागि आवश्यक पार्टपूर्जा तथा accessories केही मात्रामा मौज्दात रहने व्यवस्था मिलाउन भनिएको छ। सबै सार्वजनिक निकायले आफूले खरिद गरेका सफ्टवेयरको Source code आफ्नै कर्मचारीबाट प्राप्ति, नियन्त्रण वा प्रयोगको सुनिश्चितता गर्ने र सफ्टवेयर निर्माण, खरिद वा एकीकरण गर्नुपूर्व तथ्याङ्कको गोपनीयता, सुरक्षा एवं एकरुपता सुनिश्चितता गर्ने, सबै सरकारी सफ्टवेयरको Security Audit अनिवार्य रूपमा गर्ने व्यवस्था गर्नुपर्छ।
सार्वजनिक निकायले सेवा खरिद गर्दा सेवा सँगसँगै Support service/manage service समेत निश्चित अवधिको लागि खरिद गरेको अवस्थामा उक्त निकायका कर्मचारीहरूलाई Support सेवा उपलब्ध गराउने कर्मचारीसँगै काम गराई आन्तरिक सीप र क्षमता वृद्धि गरी निश्चित अवधिपश्चात् त्यस्तो Support service/manage service को कार्य जिम्मेवारी आफैँले लिने व्यवस्था मिलाउनु पर्छ।नगदरहित कारोबारलाई प्रोत्साहित गर्ने, एकीकृत खाता मात्र कारोबार हुनेगरी प्रणाली विकास गर्ने तथा एउटा व्यक्तिको कुनै एउटा निकायको आवश्यक विवरणमा अन्य निकाय वा सम्बन्धित संस्थाको समेत पहुँच हुनसक्ने गरी आवश्यक कानूनी, संरचनागत र प्रविधिगत व्यवस्था मिलाई दोहोरोपना हटाउने, सबैखाले कारोबार बैङ्किङ प्रणालीमार्फत हुने गरी आवश्यक प्रबन्ध मिलाउनु पर्छ।भ्रष्टाचारको बहुआयामिक प्रवृत्ति पहिचान र नियन्त्रणका लागि वित्तीय जानकारी इकाईको सवलीकरण र GoAML Software को उपयोग विस्तार गर्ने तथा विदेशी मुद्रा कारोबारको सीमा तोकिनु पर्छ। नेपाल वायु सेवा निगमले गृष्म(हिउँद तालिका (Summer-Winter Schedule) बमोजिम स्वदेशीरविदेशी टिकट बुकिङ, खरिद वा रद्ध गर्न मिल्ने गरी अनलाइन टिकट व्यवस्थापन प्रणालीलाई सबैको पहुँच पुग्ने गरी पारदर्शी बनाउन आयोगले निर्देशन दिएको छ।