Artharajniti ~ भारतीय विदेशमन्त्री एस जयशंंकरको नेपाल भ्रमण नजिकिएसँगै नेपाली पक्ष विद्युत् व्यापार सम्झौताको तयारीमा जुटेको छ । यही वर्षको जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली किनबेचको सम्झौता भएको थियो । प्रधानमन्त्री स्तरीय भ्रमणका क्रममा हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल र भारतका प्रधानमन्त्रीले एकस्वरमा यो विषयको घोषणा गरेका थिए । त्यसक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने उद्घोष गरेका थिए । जेठको तेस्रो साता भएको उद्घोषअनुसार भारत सरकारले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने निर्णय समेत गरिसकेको छ । भारत सरकारले भदौको पहिलो सातामा मन्त्रीपरिषद् बैठकबाटै नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने निर्णय गरेको थियो । नेपालसमेत भारततर्फ १० हजार मेगावाट बिजुली बेच्ने सम्झौता गर्न तम्तयार बनेर बसेको छ । यतिबेलासम्म नेपाल र भारतीय पक्ष जलविद्युतको क्षेत्रमा हुने ऐतिहासिक सम्झौताको सही समयको पर्खाइमा थिए । सन् २०२४ को जनवरीमा भारतीय विदेशमन्त्री एस जयशंंकरको नेपाल भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद–बिक्री सम्झौताको तयारी भइरहेको ऊर्जा, जलस्रोत तथा सिञ्चाईँमन्त्री शक्ति बस्नेतले जानकारी दिए । यस्तै, मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले भारतीय पक्ष तयार भएमा नेपाल जुनसुकै बेला सम्झौताको लागि तयारी अवस्थामा रहेको बताए ।
१० हजार मेगावाट बिजुली किनबेचको सम्झौता अनुसार नेपालले भारतलाई उपलब्ध गराउन सक्ने बताइएको छ । सरोकारवालाहरू नेपालले आगामी १० वर्षमा सहजै १० हजार मेगावाट बिजुली भारतलाई उपलब्ध गराउन सक्ने बताउँछन् । ऊर्जा मन्त्री बस्नेत भारतसँग हुन लागेको विद्युत् खरिद–बिक्री सम्झौता आवश्यक अध्ययनबाटै गरिएको बताउँछन् । ‘विद्युत् खरिद सम्झौता, वित्तीय व्यवस्थापन सम्झौता भएका र निर्माणाधीन आयोजनालाई आधार मानेर यो प्रक्रिया अघि बढेको छ,’ उनी भन्छन् । यो घोषणालाई तथ्याङ्कले पुष्टि गर्छ । भारतको घोषणा आगामी १० वर्षमा कुन आयोजनाबाट कति उत्पादन हुन्छ भन्ने सुनिश्चितता सहित गरिएको मन्त्री बस्नेले बताए । उनले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा भएको घोषणालाई दुई देशकै मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको बताउँछन् । उक्त घोषणा अनुसार औपचारिक सम्झौताको प्रक्रियामा निकट भविष्यमै हुन्छ । दुई पक्षबिच सम्झौता भए लगत्तै नेपाललाई धेरै हुने बिजुली निर्वाधरुपमा भारत निर्यात सुरु हुनेको उनको भनाई छ ।