सेयर लगानीकर्ताले गुमाए एकै वर्षमा ९ खर्ब

Machchapuchchre

अर्थ राजनीति  ~  सेयर लगानीकर्ताले एकै वर्षमा सेयर बजारबाट झण्डै नौ खर्ब रुपैयाँ गुमाएका छन् । गत वर्षको माघदेखि चालु आर्थिक वर्षको माघसम्ममा लगानीकर्ताले यो रकम गुमाएका हुन् । पछिल्ला महिनाहरूमा सेयर बजारमा भएको निरन्तर गिरावटका कारण लगानीकर्ताले ठूलो रकम गुमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत माघ मसान्तमा सेयर बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । २०७८ माघ मसान्तमा ३९ खर्ब ५९ अर्ब ६५ करोड रुपैयाँ रहेको बजार पुँजीकरण सेयर बजारमा आएको निरन्तर गिरावटसँगै घटेको हो । २०७८ माघको तुलनामा चालु आवको माघ महिनासम्ममा धितोपत्र बजार पुँजीकरण ८ खर्ब ९७ अर्ब ६९ करोड रुपैयाँले घटेको छ ।आव २०७६/०७७ देखि क्रमशः बढ्दो क्रममा रहेको धितोपत्र बजार पुँजीकरण चालु आवमा भने घट्न पुगेको हो । त्यसअघि २०७४ माघ मसान्तमा १६ खर्ब १४ अर्ब १७ करोड रुपैयाँ रहेको धितोपत्र बजार पुँजीकरण २०७५ माघ मसान्तमा करिब ३ खर्बले घटेको थियो । त्यसपछिका वर्षहरूमा भने बजार पुँजीकरण क्रमशः बढ्दै २०७८ माघ मसान्तसम्ममा ३९ खर्ब ५९ अर्ब ६५ करोड रुपैयाँ पुगेको थियो । तर, चालु आवको माघ मसान्तमा आइपुग्दा बजार पुँजीकरण झण्डै ९ खर्ब रुपैयाँले घटेको हो ।

राष्ट्र बैंकको चालु आवको तथ्यांकमा लगानीकर्ताले सेयर बजारमा झण्डै ९ खर्ब बराबरको लगानी गुमाएको देखिए पनि वास्तविक रूपमा यो अझै धेरै हुन पुग्ने लगानीकर्ताहरू बताउँछन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सोमबारको तथ्यांकअनुसार हाल सेयर बजार पुँजीकरण २८ खर्ब २१ अर्ब हाराहारीमा रहेको छ । विगतमा सेयर बजार पुँजीकरण करिब ४४ खर्बभन्दा बढी पुगेकोमा पछिल्लो वर्षमा यो क्रमशः घट्दै गएको हो । यसबीचमा लगानीकर्ताले समग्रमा सेयर बजारबाट १६ खर्बभन्दा बढी रकम गुमाइसकेको सो तथ्यांकबाट देख्न सकिन्छ । लगानीकर्ताहरू राज्यले धितोपत्र बजारसम्बन्धी नीति कसिलो बनाउँदा ठूलो रकम गुमाउन परेको बताउँछन् । राजनीतिक अस्थिरता, रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्नु, पुँजी पलायन हुनु लगायतका कारण पनि धितोपत्र बजारमा समस्या आएको लगानीकर्ताहरूको गुनासो छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्