अस्पतालबाट फर्किएपछि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट फर्किएपछि पहिलोपटक मन्त्रिपरिषद बोलाएका छन् । बैठक सोमवार बस्दैछ । एपेन्डिसाइटिसको शल्यक्रियापछि दश दिन अस्पताल बसेर फर्किएपछि प्रधानमन्त्री विस्तारै काममा फर्किएका छन् । १४ दिनअघि प्रधानमन्त्रीलाई अचानक स्वास्थ्यमा समस्या आएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । चार दिनअघि अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्रीले यसबीचमा सीमित व्यक्तिहरुसँग मात्र भेटघाट गरेका छन् ।

मन्त्रिपरिषद बैठक अपरान्ह ४ बजे बोलाइएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए । यसअघि प्रधानमन्त्रीले पार्टी सचिवालय बैठकका एजेण्डाहरुका बारेमा अर्का अध्यक्ष प्रचण्डसँग पनि परामर्श गरेका थिए । प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र अहिले पूर्ववत काममा फर्किसकेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताए । यसबीचमा पोखरेलसहित केही मन्त्रीसँग प्रधानमन्त्रीले परामर्श गरेका छन् ।

पार्टी एकीकरणका बाँकी काम टुंग्याउँदै देशव्यापी अभियान चलाउन सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसंग वान टु वान वार्ता गरेका छन् ।  कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारी पाएपछि गतसाता सचिवालयको पहिलो बैठक राखेका प्रचण्डले पहिलो वरीयताका अर्का अध्यक्ष ओलीसँग भेटेका हुन् ।

उक्त छलपफलमा सोमबार सचिवालय बैठक बाेलाउने सहमति भएकाे छ । त्यस्तै बैठकको पूर्वसन्ध्यामा प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेललगायतका नेतासँग परामर्श गरेका छन् । आइतबार बिहानै वरिष्ठ नेता नेपाल प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउनेलगायतका विषयमा छलफल भएको नेताहरूले बताएका छन् । सोमबारको सचिवालय बैठकले स्थायी कमिटीको बैठक तोक्ने सम्भावना रहेको प्रचण्डलाई भेटेर फर्किएका नेता देवेन्द्र पौडेलले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्