प्रधानमन्त्रीओलीको आरोप : नागरिकले टेरेनन्

Machchapuchchre

अर्थ राजनीति ~    प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि विज्ञ र विपक्षी दलका नेताहरुसँग सुझाव लिनेक्रममा प्रधानमन्त्री ओलीले सरकारको प्रयासले मात्रै कोरोनालाई परास्त गर्न नसकिने तथ्य बुझ्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले सरकारले २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन भने पनि नागरिकले नै बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले महामारी नियन्त्रण गर्न सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै जनतामा जति बढी चेतना बढाउन सकिन्छ, कोरोनासँग लड्न पनि त्यति नै सहज हुने बताउनुभएको थियो ।

सञ्चारकर्मीहरुसँग ओलीले भन्नुभयो, ‘सरकारले भनेको नमानी हाम्रै साथिहरु कहिले स्थायी समिति बैठकको कुरा त कहिले केन्द्रीय समिति अनि केही महाधिवेशन गरौँ भन्छन् । यस्तो अवस्थामा भिडभाड गर्न नहुनेमा हामी आफैबाट भिडभाड भइरहेको छ । यसलाई हामीले गम्भीर रुपमा लिएर छलफल गर्दैछौँ ।’

प्रधानाममन्त्री ओलीले दिनप्रतिदिन कोरोनाको जोखिम बढेको अवस्थामा भेला, समारोह र बैठक गर्दा गम्भीर भएर सोच्न राजनीतिक दलहरुलाई आग्रह पनि गर्नुभयो ।

सञ्चारमाध्यमले सरकार नै देखिएन भनेर प्रचार गरेको भन्दै रुष्ट बन्नुभएका प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो, ‘काम गरिरहेकै छ सरकार अब कसरी हो त देखिने ? संकटलाई विरोध गर्ने अवसरका रूपमा लिने प्रवृत्ति बदल्नु पर्छ ।’

सरकारले काम गरेका ठाउँमा पुगेर हेर्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध । कहिले लकडाउन किन भनेर, कहिले लकडाउन खोलेको भनेर विरोध । महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न । यसलाई विरोधको अवसरका रूपमा लिनु हुन्न ।’

प्रधानमन्त्रीले प्रष्ट शब्दमा भन्नुभयो ‘लकडाउन गर्ने नगर्ने कुरा समुदायमा संक्रमणको स्तर हेरेर गरिन्छ । तर हरेकले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने गर्नुपर्छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्