अध्यक्षद्वयबीच तिक्तता अझ बढेको अनुमान, वार्ता अन्यौलमा

Machchapuchchre

अर्थ राजनीति ~ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको आन्तरिक विवाद चुलिएपछि वार्ता र संवाद पनि ओझेलमा परेको छ । पछिल्लो पटक साउन ६ गते बैठक बसेर १३ गतेका लागि सारिएको स्थायी कमिटी बैठकअघि दुई अध्यक्षले वार्ता र संवाद गरी सहमतिको प्रयास गर्ने भनिएको थियो । सात दिनका लागि सारिएको स्थायी कमिटी बैठकमा अहिलेसम्म एक पटक मात्र दुई अध्यक्षबीच वार्ता भएको छ ।

साउन ९ गते शुक्रबार दुई अध्यक्षबीच बालुवाटारमा करिब एक घण्टा वार्ता भए पनि ठोस सहमति भएन । त्यसपछि दुई अध्यक्षबीच वार्ताको वातावरण बन्न सकेको छैन । उल्टै अध्यक्षबीचको तिक्तता झन बढ्दैगएको अनुमान पार्टीका नेताहरूले लगाउँदै आएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित सोही दिनको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘पार्टीको सामूहिक नेतृत्वले मात्र समस्या समाधान हुने’ भन्दै प्रधानमन्त्री लक्षित अभिव्यक्ति दिनुभएको थियो ।

त्यसपछि दुई अध्यक्षबीच वार्ता र संवादको वातावरण नै बिग्रेको केही नेताहरूको बुझाइ छ । पार्टीका एक स्थायी कमिटी सदस्यले भन्नुभयो, “दुई अध्यक्षबीच सहमति होला भनेर एक साताको समय दिइएको हो, आफैँमा आरोप प्रत्यारोप गर्न थाल्नुभयो भने कसरी समस्या समाधानको बाटो निस्केला ?” स्थायी कमिटीको बैठक १३ गते बिहान ११ बजेका लागि बोलाइएको छ । त्यसअघि दुई अध्यक्षबीच सहमति हुनेमा आफूहरू विश्वस्त रहेको ती सदस्यले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्