गगन थापाको सुझाब: अब खड्गप्रसाद ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्नोस्

Machchapuchchre

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले ‘कुर्सी बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले जे पनि बोल्न थालेको’ बताएका छन्।

सोमबार प्रधानमन्त्रीले ‘राम जन्मभूमि’ अयोध्या वीरगन्ज नजिकैको एउटा गाउँमा पर्ने भए पनि भारतले नक्कली अयोध्या बनाएको बताएका थिए। हिन्दुहरूले भगवान् मान्ने राम भारतीय नभई नेपाली भएको उनको दाबी थियो।

प्रधानमन्त्रीको उक्त भनाइको सर्वत्र आलोचना भइरहेका बेला मंगलबार सांसद थापाले प्रधानमन्त्री ‌ओलीले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले ‘अन्टसन्ट’ बोल्ने गरेको आरोप लगाएका हुन्।

‘प्रधानमन्त्रीज्यूले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो,’ सांसद थापाले ट्वीट गर्दै भनेका छन्, ‘प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो। कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रधानमन्त्रीबाट न देश सुरक्षित छ न लोकतन्त्र!’

सांसद थापाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीलाई प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राजनीतिक होइन भनेर नपन्छिन पनि आग्रह गरेका छन्।

‘नेकपाका साथीहरू, राजनीतिक होइन भनेर नपन्छिनोस्। अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्,’ थापाले भनेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्