सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिए पनि, तत्काल सञ्‍चालन नगर्ने यातायात व्यवसायीको अठोट

Machchapuchchre

अर्थ राजनीति : सार्वजनिक यातायात तत्काल सञ्चालन नहुने भएको छ। सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिए पनि गाडी गुड्ने अवस्थामा नरहेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जानकारी दिएको छ।

चार महिनादेखि थन्किएका गाडीमा प्राविधिक समस्या देखिनुका साथै कर्मचारीको पनि अभाव रहेको महासंघका उपमहासचिव बसन्त भण्डारीले बताए। ‘गाडीको टायर मक्किएको छ। मोबिल फेर्नुपर्नेछ। ब्याट्री डाउन भएको छ। इन्जिनलगायत विभिन्न प्राविधिक जाँचको आवश्यकता छ’, उपमहासचिव भण्डारीले भने, ‘यी खर्च धान्ने ल्याकत व्यवसायीसँग छैन।

सरकारले सहुलियत र पुनर्कर्जाको व्यवस्था गर्नुपर्छ।’ एउटा गाडीलाई सडकमा चलाउन योग्य बनाउन कम्तीमा पनि ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुने व्यवसायीको अनुमान छ। केही व्यवसायीले पैसा जोहो गरे पनि ग्यारेजमा मेकानिक उपलब्ध नहुने भण्डारीले बताए।

सरकारले सरोकारबालासँग छलफल नगरी निर्णय लिएको व्यवसायीको भनाइ छ। महासंघले वैशाख २१ गते सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा सरकारलाई ज्ञापनपत्र बुझाएको थियो। व्यवसायी र सवारीको समस्या सम्बोधन नभएसम्म सडकमा गाडी गुड्ने अवस्था नरहेको उनले बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्