पार्टी विवादमा अल्झने होइन, जनताको जीवन रक्षामा जुटौंः प्रधानमन्त्री ओली

Machchapuchchre

अर्थ राजनीति ~  प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट कसैले विमुख बन्न पनि नमिल्ने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो, प्राकृतिक विपद् र कोरोना नियन्त्रण सम्बन्धमा बिहीबार गर्नुभएको सम्बोधनमा यस्ताे उल्लेख गुर्नभएको हो ।
प्रधानमन्त्रीले सम्बोधनमा भन्नुभएको छ, “अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरूप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ । त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वभाविकै हो । महामारी र प्राकृतिक विपत्तिको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरू पनि उठ्नु अन्यथा होइन । जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पर्याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरूकै हो ।”
सम्बोधनमा अगाडि भन्नुभएको छ, “पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरू तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ ।”
प्रधानमन्त्रीले सम्बोधनमा अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुनसक्छ भन्दै भन्नुभएको छ, “म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरूका बीच आपसी एकता बढाउन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ ।”
प्रधानमन्त्रीले अगाडि भन्नुभयो “यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि मिल्दैन । मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशवासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन । त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र संम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ ।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्